News Portal

  • लाङटाङ जलविद्युत् आयोजनाको सुरुङभित्र फसे ३५ मजदुर

    आर्थीकसंसार संवाददाता१० भदौ, २०८३
    ४२ पटक
    १० भदौ, २०८३

    काठमाडौँ । रसुवामा आएको बाढीका कारण २० मेगावाट क्षमताको लाङटाङ जलविद्युत् आयोजनामा ठुलो क्षति पुगेको छ । बाढीका कारण आयोजनाको सुरुङ (टनेल) भित्र ३५ जना मजदुर फसेका छन् भने इन्जिनियरसहित अन्य २५ कर्मचारी सम्पर्कविहीन भएका छन्।

    कम्पनीका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का सचिव विजयमोहन भट्टराईका अनुसार आयोजनामा कार्यरत करिब ६० जना कर्मचारी तथा मजदुर हालसम्म सम्पर्कविहीन छन् ।

    नदीको सतहभन्दा करिब १०० मिटरमाथि रहेको सुरुङमा काम गर्दै गरेका ३५ जना मजदुर भित्रै थुनिएको भन्दै उद्धारको लागि सरकारसँग माग गरेका छन् ।
    ‘आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको थियो । सुरुङमा कङ्क्रिट गर्न अब जम्मा दुई दिनको मात्र काम बाँकी थियो,‘ प्रबन्ध निर्देशक भट्टराईले भने, ‘तिब्बततर्फबाट आएको भीषण बाढी र महाविपत्तिले नदीको सतहभन्दा १०० मिटर माथिसम्म क्षति पुर्‍यायो, जसका कारण सुरुङमा काम गरिरहेका ३५ जना मजदुर भित्रै फसेका छन् ।’
    उनका अनुसार सुरुङमा फसेका बाहेक आयोजनामा कार्यरत इन्जिनियर, ओभरसियर, भान्से, सवारी चालक लगायत अन्य २५ जना कर्मचारी पनि सम्पर्कविहीन छन् । आयोजनाको हेडवर्क्समा काम गरिरहेका केही कर्मचारी भने सुरक्षित रहेको जानकारी प्राप्त भएको उनले बताए । बाढीले आयोजनाको पावर हाउस (विद्युत् गृह) पूर्ण रूपमा बगाएर ध्वस्त बनाएको छ ।
    उद्धारमा कठिनाइ, सरकारसँग गुहार

    सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको र टेलिफोन सम्पर्कसमेत विच्छेद भएकाले उद्धार कार्यमा गम्भीर चुनौती थपिएको छ । भट्टराईले निजी तवरबाटै हेलिकप्टर लिएर उद्धारमा जान खोजे पनि सम्भव नभएको बताए ।

    ‘म आफैँ हेलिकप्टर लिएर जान खोजेको थिएँ, तर सरकारले सबै हेलिकप्टर विपद् व्यवस्थापनमा बुकिङ गरिसकेका कारण हेलिकप्टर उपलब्ध हुन सकेन,’ उनले भने, ‘भट्टराईले मेरो पहिलो प्राथमिकता भनेको त्यहाँ फसेका मजदुर र कर्मचारीको ज्यान बचाउनु रहेको बताए ।

    उनले भने,‘ ज्यान बचे आयोजना त पछि फेरि बनाउन सकिन्छ । त्यो भन्दा पहिला फसेका मजदुरहरूलाई त्तकाल उद्धार आवश्यक छ । तर त्यो कठिन भइरहेको छ ।’  उनले तत्काल उद्धारका लागि सरकारसँग अपिल गरेका छन्।

    प्रतिकृया दिनुहोस्