
१० भदौ, २०८३काठमाडौँ । रसुवामा आएको बाढीका कारण २० मेगावाट क्षमताको लाङटाङ जलविद्युत् आयोजनामा ठुलो क्षति पुगेको छ । बाढीका कारण आयोजनाको सुरुङ (टनेल) भित्र ३५ जना मजदुर फसेका छन् भने इन्जिनियरसहित अन्य २५ कर्मचारी सम्पर्कविहीन भएका छन्।
कम्पनीका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का सचिव विजयमोहन भट्टराईका अनुसार आयोजनामा कार्यरत करिब ६० जना कर्मचारी तथा मजदुर हालसम्म सम्पर्कविहीन छन् ।
सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको र टेलिफोन सम्पर्कसमेत विच्छेद भएकाले उद्धार कार्यमा गम्भीर चुनौती थपिएको छ । भट्टराईले निजी तवरबाटै हेलिकप्टर लिएर उद्धारमा जान खोजे पनि सम्भव नभएको बताए ।
‘म आफैँ हेलिकप्टर लिएर जान खोजेको थिएँ, तर सरकारले सबै हेलिकप्टर विपद् व्यवस्थापनमा बुकिङ गरिसकेका कारण हेलिकप्टर उपलब्ध हुन सकेन,’ उनले भने, ‘भट्टराईले मेरो पहिलो प्राथमिकता भनेको त्यहाँ फसेका मजदुर र कर्मचारीको ज्यान बचाउनु रहेको बताए ।
उनले भने,‘ ज्यान बचे आयोजना त पछि फेरि बनाउन सकिन्छ । त्यो भन्दा पहिला फसेका मजदुरहरूलाई त्तकाल उद्धार आवश्यक छ । तर त्यो कठिन भइरहेको छ ।’ उनले तत्काल उद्धारका लागि सरकारसँग अपिल गरेका छन्।