News Portal

  • नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा बालविकास सहजकर्ताविरुद्ध मुद्दा

    आर्थीकसंसार संवाददाता९ भदौ, २०८३
    ४६ पटक
    ९ भदौ, २०८३

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी विद्यालयमा बालविकास सहजकर्ताको जागिर खाएको आरोपमा डडेल्धुराकी मन्जु देवी बोहराविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आयोगका अनुसार डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित श्री भगवती प्राथमिक विद्यालय, पर्सेरावल मा कार्यरत बालविकास सहजकर्ता मन्जु देवी बोहराले नियुक्तिका क्रममा पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरीपछि अनुसन्धान गरिएको थियो ।

    अनुसन्धानका क्रममा बोहराले उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद्, भारत बाट २०१० मा हाईस्कुल परीक्षा उत्तीर्ण गरेको भन्दै मार्कसिट, प्रमाणपत्र र प्रव्रजन प्रमाणपत्रलगायतका झुट्टा (नक्कली) कागजात तयार गरी पेश गरेको अख्तियारको निष्कर्ष छ ।

    ती नक्कली प्रमाणपत्रका आधारमा उनले बालविकास सहजकर्ताको पदमा नियुक्ति लिई लामो समयसम्म बहाल रही पारिश्रमिक, भत्ता तथा अन्य सेवा–सुविधा लिएको आयोगले जनाएको छ ।

    आयोगले बोहराको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुर ठहर गर्दै सोही ऐनअनुसार कैद र जरिवानाको सजाय मागदाबी सहित विशेष अदालत, काठमाडौं मा आरोपपत्र दायर गरेको जनाएको छ ।

    अख्तियारले भदौ ८ गते उक्त आरोपपत्र दायर गरेको हो ।

    प्रतिकृया दिनुहोस्