News Portal

  • यात्री पी-२ स्कुटर एकै पटकको चार्जमा १५७ किलोमिटरसम्म गुड्ने

    आर्थीकसंसार संवाददाता८ भदौ, २०८३
    ५० पटक
    ८ भदौ, २०८३

    काठमाडौं । नेपाली सवारी ब्रान्ड यात्री मोटरसाइकल र सिप्रदी ट्रेडिङको साझेदारीमा निर्मित नयाँ विद्युतीय स्कुटर ‘यात्री पी-२’ औपचारिक रूपमा सार्वजनिक भएको छ ।

    नेपालमै डिजाइन, इन्जिनियरिङ र उत्पादन गरिएको यो स्कुटरलाई सिप्रदी यात्रीले विभिन्न ब्याट्री क्षमताका विकल्पसहित बजारमा ल्याएको हो ।

    ग्राहकको आवश्यकता अनुसार पी-२ लाई ५.२ किलोवाट घण्टा, ३.७ किलोवाट घण्टा र ३ किलोवाट घण्टा गरी तीन फरक ब्याट्री मोडलमा उपलब्ध गराइएको छ ।

    कम्पनीका अनुसार ५.२ किलोवाट ब्याट्री भएको मोडलले एक पटकको पूर्ण चार्जमा १५७ किलोमिटरसम्मको दूरी तय गर्छ ।

    त्यस्तै, ३.७ किलोवाट घण्टाको मोडलले ११२ किलोमिटर र ३ किलोवाट घण्टा क्षमताको ब्याट्रीले ९० किलोमिटरसम्मको दूरी तय गर्ने दाबी गरिएको छ ।

    यस स्कुटरमा ३.३ किलोवाट क्षमताको द्रुत (डीसी) चार्जिङ सुविधा समेत रहेको छ ।

    लामो दूरीको यात्रालाई सहज बनाउन सिप्रदी यात्रीले देशभर ३५ भन्दा बढी स्थानमा यस्ता द्रुत चार्जिङ केन्द्र स्थापना गर्ने योजना बनाएको छ ।

    आधुनिक प्रविधिलाई प्राथमिकता दिइएको पी-२ मा एन्ड्रोइड अटो, एप्पल कारप्ले, वास्तविक समयको ऊर्जा मापक (रियल टाइम इनर्जी मिटर) र आधुनिक सुचना पाटी (स्मार्ट डिस्प्ले) समावेश गरिएका छन् ।

    नेपालका तराईदेखि पहाडी तथा कठिन सडकहरू (जिरी, काठमाडौं, मुलकोट, कटारी, भरतपुर, वालिङ आदि) मा व्यापक परीक्षणपश्चात् मात्र यसलाई बजारमा उतारिएको हो ।

    नेपालमा विद्युतीय दुईपाङ्ग्रे सवारी उत्पादनलाई व्यावसायिक रूप दिन सिप्रदी यात्रीले उत्पादन केन्द्रमा करिब ६० करोड रुपैयाँ लगानी गर्ने र वार्षिक ५० हजार थानसम्म स्कुटर उत्पादन गर्ने लक्ष्य राखेको छ ।

    प्रतिकृया दिनुहोस्