
७ भदौ, २०८३काठमाडौं । बीमा क्षेत्रलाई थप प्रभावकारी, विश्वसनीय र दक्ष बनाउन अनुसन्धान, प्राविधिक अध्ययन तथा सम्बन्धित संस्थाबीच सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।
उनीहरूले बीमा सर्भेक्षण, दाबी मूल्याङ्कन, बीमालेख निर्माण तथा प्राविधिक विषयमा निरन्तर अनुसन्धान गरी त्यसका आधारमा नीतिगत सुधार अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
रिसर्च इन्स्टिच्युट अफ सर्भेयर्स इन इन्स्योरेन्स (रिसी) को प्रथम वार्षिक साधारणसभाका अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो धारणा राखेका हुन् ।

नेपालमा बीमा सर्भेक्षण, क्षति मूल्याङ्कन तथा दाबी प्रक्रियासम्बन्धी अनुसन्धान गर्ने उद्देश्यले स्थापना भएको रिसीले नेपाल बीमा प्राधिकरण तथा अन्य सम्बन्धित संघसंस्थासँग सहकार्य गर्दै बीमा क्षेत्रका नयाँ अभ्यास र चुनौतीबारे अनुसन्धानमूलक अध्ययन तथा सुझाव प्रस्तुत गर्दै आएको छ ।
कार्यक्रममा रिसीका अध्यक्ष मोहन पुरुष ढकालले संस्थाको आगामी प्रमुख प्राथमिकता सदस्यता विस्तारका लागि बलियो र प्रभावकारी संयन्त्र विकास गर्नु रहेको बताए ।
उनले संस्थालाई यहाँसम्म ल्याउन सहयोग गर्ने सञ्चालक समितिसहित सबैप्रति आभार व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणको प्रयास र संस्थाले अघि सारेका रणनीतिका आधारमा आगामी कामलाई थप प्रभावकारी बनाइने बताए ।
उनका अनुसार संस्थाले विभिन्न रणनीति विकास गरिसके पनि अझै धेरै काम गर्न बाँकी छ । विशेषगरी सदस्यता विस्तारलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक संयन्त्र विकासको काम अघि बढिरहेको उनले जानकारी दिए ।
अध्यक्ष ढकालले सर्भेयरहरू आ–आफ्नो क्षेत्रमा विज्ञ रहेको उल्लेख गर्दै उनीहरूले लामो समयदेखि हासिल गरेको दक्षता र परीक्षण भइसकेको क्षमतालाई कानुनी तथा संस्थागत रूपमा समेट्नुपर्नेमा जोड दिए ।
सर्भेयरहरूको क्षमता ओझेलमा नपरोस् भन्नेतर्फ सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैदवार क्षेत्रीले नेपाली बीमा सर्भेयरहरूले अनपेक्षित विपद्का समयमा जोखिमको यथार्थ मूल्याङ्कन गर्दै समयमै दाबी फछ्र्यौट गर्न सक्ने क्षमता प्रमाणित गरिसकेको बताए ।
उनले नेपाली बीमा क्षेत्रको बढ्दो दायरा, प्राविधिक जनशक्तिको विकास तथा विशेषगरी विपद् व्यवस्थापनमा सर्भेयरहरूले निर्वाह गर्दै आएको भूमिकाबारे चर्चा गरे ।
नेपालमा पर्याप्त संख्यामा अनुभवी तथा दक्ष सर्भेयर रहेको उल्लेख गर्दै उनले कोभिड-१९ महामारी तथा पछिल्ला ठूला प्राकृतिक विपद्का समयमा सर्भेयरहरूले निर्वाह गरेको भूमिका र दाबी फर्छ्याैटमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताए ।
अध्यक्ष क्षेत्रीले बीमा क्षेत्रसँग आबद्ध सर्भेयर एसोसिएसन तथा बीमक संघलगायत संस्थालाई सहभागी गराएर संयुक्त रूपमा अध्ययन तथा अनुसन्धान अघि बढाउनुपर्ने बताए ।
बीमालेखको डिजाइनदेखि दाबी मूल्याङ्कनसम्मका विषयमा अनुसन्धान गरी आवश्यक सुझाव तथा सिफारिस तयार गर्नुपर्ने उनको भनाइ थियो ।
इन्जिनियरिङ बीमामा ‘फिडिक’का सिफारिस तथा इन्जिनियरिङ काउन्सिलले तयार गर्ने बीमा क्लजलाई आधार बनाउने गरिएको उल्लेख गर्दै क्षेत्रीले नेपालमा पनि बीमा क्षेत्रका प्राविधिक विषयमा व्यवस्थित अनुसन्धान आवश्यक रहेको बताए ।
उनका अनुसार नेपाल बीमक संघले प्राविधिक विषयमा सुझाव दिन विभिन्न प्राविधिक समूह तथा उपसमिति गठन गरेको छ ।
अन्डरराइटिङसम्बन्धी विषयमा सुझाव दिन सात सदस्यीय प्राविधिक उपसमिति रहेको तथा स्ट्यान्डर्ड फाइनान्स र पुनर्बिमालगायत विषयमा पनि प्राविधिक उपसमितिमार्फत काम भइरहेको उनले जानकारी दिए ।
नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एशोसिएसन (निर्मा) का उपाध्यक्ष उदयराज अधिकारीले रिसीले संस्थाको सुरुवातदेखि नै वित्तीय स्रोत, कार्ययोजना र सञ्चालन मोडलबारे स्पष्ट योजना बनाउनुपर्ने बताए ।
निर्माले सञ्चालनका क्रममा भोगेका कठिनाइ रिसीले भोग्न नपरोस् भन्नेतर्फ सुरुदेखि नै तयारी आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता संस्था सञ्चालनका लागि पर्याप्त नगद प्रवाह आवश्यक हुने बताए ।
संस्थाको व्यावसायिक योजना र वित्तीय स्रोतबारे सुरुदेखि नै स्पष्ट हुनुपर्ने उनको भनाइ थियो ।
अधिकारीले अनुसन्धानसँगै जर्नल तथा प्रकाशनलाई पनि संस्थागत विकासको महत्त्वपूर्ण आधारका रूपमा लिनुपर्ने बताए ।
निर्माले विगत पाँच वर्षदेखि नियमित रूपमा जर्नल प्रकाशन गर्दै आएको र हालसम्म छ वटा संस्करण प्रकाशित गरिसकेको जानकारी दिँदै उनले एउटा जर्नल प्रकाशनमा न्यूनतम चारदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुने बताए ।
रिसी र निर्माबीच जर्नल प्रकाशन तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्न सकिने उल्लेख गर्दै अधिकारीले बीमा क्षेत्रसँग आबद्ध विभिन्न गैरनाफामूलक संस्था तथा संघसंस्थाबीच अनुसन्धान र विकासका क्षेत्रमा संयुक्त रूपमा काम गर्नुपर्नेमा जोड दिए ।
नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष फत्तबहादुर केसीले नेपालको बीमा क्षेत्रलाई थप परिष्कृत र विश्वसनीय बनाउन अनुसन्धानमूलक संस्थाको आवश्यकता रहेको बताए ।
बीमा क्षेत्रमा अनुसन्धानको आवश्यकता महसुस गरी रिसी स्थापना हुनु आफैंमा प्रशंसनीय प्रयास भएको उनको भनाइ थियो ।
रिसीलाई सफल बनाउन संस्थाको आफ्नै पहलसँगै नेपाल बीमक संघ, बीमा कम्पनी तथा नेपाल बीमा प्राधिकरणको समेत महत्त्वपूर्ण भूमिका रहने केसीले बताए ।
अनुसन्धानका लागि आवश्यक स्रोतसाधन जुटाउन सम्बन्धित निकायले सहयोग गर्नुपर्ने उनले बताए ।
नेपालको बीमा क्षेत्रमा देखिने नयाँ तथा आकस्मिक विषयलाई सम्बोधन गर्न नियमित अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दै केसीले बीमा क्षेत्र अझै आलोचनाबाट पूर्ण रूपमा मुक्त हुन नसकेको र अपेक्षित गतिमा अघि बढ्न नसकेको अवस्थामा अनुसन्धानमार्फत समस्याको पहिचान तथा समाधान खोज्नुपर्ने बताए ।
नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भराज लामिछानेले सर्भेयरहरू आफ्नो क्षेत्रमा स्थापित विज्ञ रहेको भन्दै बीमा व्यवसायमा उनीहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए ।
नेपालमा सर्भेयरको पेशा पुस्तौंदेखि चल्दै आएको र पुस्तान्तरण हुँदै जाँदा पनि यसको महत्व उत्तिकै कायम रहेको उनले उल्लेख गरे ।
सर्भेयरहरूको हकहित तथा बीमा क्षेत्रको सुधारका लागि प्राधिकरणले रिसीसँग निरन्तर समन्वय र सुझाव आदानप्रदान गर्दै आएको लामिछानेले बताए ।
रिसीको मुख्य उद्देश्य बीमा क्षेत्रका विभिन्न विषयमा अनुसन्धान गर्नुका साथै सर्भेयरहरूलाई आवश्यक तालिम प्रदान गर्नु रहेको उनले बताए ।
प्राधिकरणले सर्भेयर लाइसेन्सका लागि परीक्षा तथा तालिमको व्यवस्था गरेको उल्लेख गर्दै उनले रिसीले उपयुक्त पाठ्यक्रम विकास गरी तालिम सञ्चालन गर्दा प्राधिकरणको कानुनी आवश्यकतासमेत पूरा गर्न सहयोग पुग्ने बताए ।
बीमा दाबी तथा सर्भेका क्रममा देखिने विसंगति, बीमालेखसम्बन्धी विवाद र प्राविधिक समस्याको समाधानका लागि ठोस अनुसन्धान आवश्यक रहेको लामिछानेको भनाइ थियो ।
रिसीको सञ्चालनका लागि सेवा शुल्क, सदस्यता शुल्क तथा विभिन्न तथ्यांक र अनुसन्धान परियोजनामा हुने सहकार्यलाई आम्दानीको मुख्य स्रोत बनाउन सकिने उनले बताए ।
उनका अनुसार प्राधिकरणले हाल छ वटा नयाँ पोर्टफोलियो निर्माण गरिरहेको छ । विद्यमान सर्भेयरले कसरी काम गर्ने, उनीहरूको कार्यक्षेत्र कसरी निर्धारण गर्ने तथा कस्तो अनुभव भएका सर्भेयरलाई कुन श्रेणीमा राख्ने भन्ने विषयमा रिसीले गर्ने अनुसन्धान महत्त्वपूर्ण हुने उनले बताए ।
रिसीबाट प्राप्त अनुसन्धान प्रतिवेदनले सर्भेयरको कार्यक्षेत्र निर्धारण तथा वर्गीकरणका विषयमा प्राधिकरणलाई महत्त्वपूर्ण प्राविधिक सहयोग पुग्ने लामिछानेले बताए ।