
७ भदौ, २०८३काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले मधेश प्रदेशअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी विकास व्यवस्थापक (एडीएम) तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्ताहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेशका विभिन्न शाखाबाट एजेन्सी विकास व्यवस्थापक, उत्कृष्ट अभिकर्ता, क्षेत्रीय व्यवस्थापक तथा शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा विभिन्न शाखाका अभिकर्ता, क्षेत्रीय व्यवस्थापक प्रमोद साह, उपेन्द्र नारायण महतो लगायत शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा मधेश प्रदेश प्रमुख चौधरीले कम्पनीको बिक्री नीति २०८३/८४ तथा आगामी कार्यक्रमबारे जानकारी गराउँदै अभिकर्ताहरूलाई कम्पनीका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यवसाय विस्तारमा थप सक्रिय हुन आग्रह गरे ।
प्रमुख बजार अधिकृत चौलागाईंले अभिकर्ताहरूको हकहित, सेवा–सुविधा तथा व्यावसायिक विकासलाई कम्पनीले प्राथमिकतामा राख्दै विभिन्न नीति तथा कार्यक्रम निर्माण एवं कार्यान्वयन गर्दै आएको बताए ।
अभिकर्ताहरूको व्यावसायिक यात्रालाई सहज बनाउन कम्पनी सहकार्य र सहजीकरणका लागि सधैं तयार रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि अभिकर्तामुखी कार्यक्रम तथा प्रोत्साहनका योजनालाई निरन्तरता दिइने बताए ।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत अर्यालले सन नेपाल लाइफले मधेश प्रदेशमा आफ्नो छुट्टै पहिचान तथा सकारात्मक व्यावसायिक छवि निर्माण गर्न सफल भएको बताए ।
कम्पनीको यो सफलतामा मधेश प्रदेशका सम्पूर्ण अभिकर्ता, एजेन्सी विकास व्यवस्थापक तथा शाखा टोलीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले उनीहरूको मेहनत, लगनशीलता र निरन्तर प्रयासप्रति विशेष धन्यवाद तथा आभार व्यक्त गरे ।
उनले आगामी दिनमा मधेश प्रदेशमा बीमाको पहुँच थप विस्तार गर्दै अभिकर्ता तथा एजेन्सी सञ्जाललाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई निरन्तर प्रोत्साहन तथा सम्मान प्रदान गरिने पनि उनले बताए ।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी विकास व्यवस्थापक तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्ताहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।

सम्मानले अभिकर्ताहरूमा थप उत्साह र ऊर्जा प्रदान गर्दै आगामी दिनमा अझ उत्कृष्ट व्यावसायिक उपलब्धि हासिल गर्न प्रेरणा मिलेको सहभागीहरूले बताएका छन् ।
कार्यक्रमले अभिकर्ताको उत्प्रेरणा, नेतृत्व विकास, व्यावसायिक क्षमता अभिवृद्धि तथा कम्पनी र अभिकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।
सन नेपाल लाइफले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा तथा बीमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
बीमाको पहुँच विस्तार, अभिकर्ता सञ्जालको विकास, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यावसायिक वृद्धिलाई प्राथमिकतामा राख्दै कम्पनीले आफ्नो सेवा विस्तारलाई निरन्तरता दिइरहेको जनाएको छ ।