News Portal

  • ब्रोड पिक दुर्घटनाका मृतक नेपालीका परिवारलाई नेको इन्सुरेन्सले दियो बीमा रकम

    आर्थीकसंसार संवाददाता५ भदौ, २०८३
    ३२ पटक
    ५ भदौ, २०८३

    काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा गएको हिमपहिरोमा परी मृत्यु भएका दुई नेपाली आरोहीका परिवारलाई नेको इन्सुरेन्स लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ ।

    हिमपहिरोमा विश्वप्रसिद्ध हिमाल आरोही निर्मल पुर्जासहित १० जनाको मृत्यु भएको थियो। मृतकमध्ये पाँच जना नेपाली नागरिक रहेका थिए ।

    सोही दुर्घटनामा मृत्यु भएका नेपाली नागरिक ग्यालु शेर्पा र ङाङ ठिन्डु शेर्पाका परिवारलाई ट्रेकिङ तथा एक्सपेडिसन बीमाअन्तर्गतको दाबी रकम भुक्तानी गरिएको नेको इन्सुरेन्सले जनाएको छ ।

    उक्त बीमा सेवा सेवन समिट ट्रेक्स प्रालिमार्फत गरिएको कम्पनीले जनाएको छ । आवश्यक प्रक्रिया पूरा गरी दाबीको छानबिन तथा मूल्याङ्कनपछि कम्पनीले शीघ्र रूपमा बीमा रकम भुक्तानी गरेको हो ।

    विपद्को कठिन समयमा बीमितका परिवारलाई आर्थिक राहत र सहयोग प्रदान गर्नु बीमाको प्रमुख उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

    सेवन समिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंले नेको इन्सुरेन्सले गरेको शीघ्र दाबी भुक्तानीप्रति खुसी व्यक्त गरे । ट्रेकिङ तथा एक्सपेडिसन व्यवसायमा शेर्पाहरू मेरुदण्डका रूपमा रहेको उल्लेख गर्दै उनले कठिन परिस्थितिमा गरिएको सहज र शीघ्र दाबी भुक्तानीले पीडित परिवारलाई ठूलो राहत पुगेको बताए ।

    नेको इन्सुरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत पवन थापाले बीमा जोखिम हस्तान्तरणको माध्यम मात्र नभई दुर्घटना तथा विपद्का समयमा बीमित र उनका परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने महत्वपूर्ण आधार भएको बताए ।

    उनले विशेषगरी ट्रेकिङ तथा पर्वतारोहण क्षेत्रमा कार्यरत जनशक्तिका लागि उपयुक्त बीमा सुरक्षाको महत्वमा जोड दिए ।

    नेको इन्सुरेन्सले आगामी दिनमा पनि बीमित तथा सेवाग्राहीलाई छिटो, सरल र प्रभावकारी दाबी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

    प्रतिकृया दिनुहोस्