News Portal

  • रुपाकोट रिसोर्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

    आर्थीकसंसार संवाददाता३ भदौ, २०८३
    ५१ पटक
    ३ भदौ, २०८३

    काठमाडौं । रुपाकोट रिसोर्ट लिमिटेडले भविष्यमा सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

    यस सम्बन्धमा एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच दुई पक्षीय सम्झौता सम्पन्न भएको हो । सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले रुपाकोट रिसोर्टलाई आईपीओ निष्कासनसम्म आवश्यक पर्ने परामर्श तथा अन्य सेवा उपलब्ध गराउनेछ ।

    एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आईडिया टु आईपीओ’ सेवाअन्तर्गत कम्पनी स्थापनादेखि आईपीओ निष्कासनको चरणसम्म आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आएको जनाएको छ ।

    कास्कीको रुपा गाउँपालिका–६, मैदानमा कार्यालय रहेको रुपाकोट रिसोर्टले प्रचलित कानुनबमोजिम सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन गर्ने तयारी अघि बढाएको हो ।

    पर्यटनको आकर्षक गन्तव्य बन्दै रुपाकोट

    पोखरामा अवस्थित रुपाकोट रिसोर्ट पर्यटन तथा आतिथ्य क्षेत्रको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै आएको छ ।

    प्राकृतिक सौन्दर्य, शान्त वातावरण, हिमाली शृंखलाको दृश्य तथा रुपा र बेगनास तालको मनोरम दृश्यावलोकन गर्न सकिने भौगोलिक अवस्थिति रिसोर्टको प्रमुख विशेषता रहेको कम्पनीले जनाएको छ ।

    रिसोर्टले पोखरा उपत्यकाको पर्यटन सम्भावनालाई ग्रामीण तथा प्राकृतिक पर्यटनसँग जोड्दै रुपाकोट क्षेत्रलाई उच्चस्तरीय आतिथ्य सेवा, प्रकृति अवलोकन तथा विश्रामका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।

    रिसोर्टमा आवासीय सुविधा, भोजन तथा पेय पदार्थ सेवा, मनोरञ्जन, विश्राम तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने पूर्वाधार उपलब्ध छन् ।

    यसका कारण पारिवारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा विशेष समारोहका लागि समेत रुपाकोट रिसोर्ट उपयुक्त गन्तव्यका रूपमा विकास हुँदै गएको कम्पनीले जनाएको छ ।

    एनआईसी एशिया क्यापिटलले ‘आईडिया टु आईपीओ’ सेवाअन्तर्गत निजी कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्कासनसम्म आवश्यक परामर्श सेवा प्रदान गर्दै आएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्