
३ भदौ, २०८३काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७९औँ वार्षिकोत्सवको अवसरमा दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
कम्पनीले आगामी असोज ३ गते सामाखुसी फुटसलमा प्रतियोगिता आयोजना गर्न लागेको हो । कम्पनी ७९औँ वर्ष पूरा गरी ८०औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा नेपाल बीमा प्राधिकरणसहित जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा तथा पुनर्बीमा कम्पनीका कर्मचारीहरूको सहभागिता रहनेछ ।
‘प्रोटेटिङ एभ्री रिक्स, सेलिब्रेटिङ एभ्री गोल्स’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताको मुख्य उद्देश्य मनोरञ्जनसँगै बीमा क्षेत्रका कर्मचारीबीच आपसी समन्वय, सद्भाव र आत्मविश्वास बढाउनु रहेको कम्पनीले जनाएको छ ।
त्यस्तै, प्रतियोगितामार्फत स्वस्थ जीवनशैलीसम्बन्धी चेतना अभिवृद्धि गर्ने लक्ष्यसमेत राखिएको छ ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
यसअघि आयोजना गरिएको पहिलो संस्करणमा बीमा क्षेत्रका विभिन्न संस्थाबाट उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ । सोही उत्साहलाई निरन्तरता दिँदै यस वर्ष पनि बीमा प्राधिकरणलगायत बीमा क्षेत्रका विभिन्न कम्पनीहरूको उत्साहपूर्ण सहभागिता रहने अपेक्षा गरिएको छ ।