
३ भदौ, २०८३काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो कुल व्यवसाय (खुद बीमा शुल्क) र प्रतिसेयर नेटवर्थमा सुधार गर्दै आन्तरिक वित्तीय आधारलाई थप मजबुत बनाएको छ ।
एक वर्षमा कम्पनीले २ अर्ब २१ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आव २०८१/८२ मा २ अर्ब २ करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा अवधिका कम्पनीको खुद बीमा शुल्क ९.७४ प्रतिशत बढेको छ ।
व्यवसाय विस्तारसँगै कम्पनीको प्रतिसेयर नेटवर्थ पनि बढेको छ । एक वर्षमा कम्पनीको प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ ९४ पैसा पुगेको छ ।
गत आर्थिक वर्षमा कम्पनीले ४ अर्ब ८४ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
अघिल्लो वर्ष कम्पनीले ४ अर्ब ९ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १८.३४ प्रतिशतले बढेको छ ।
चुक्तापुँजी २ अर्ब ५० करोड १ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा तथा अन्य कोषहरुको स्थिति बलियो देखिएको छ ।
कम्पनीको महाविपत्ति कोषमा ९ करोड ९० लाख रुपैयाँ छ । अघिल्लो आवमा कम्पनीको उक्त कोषमा ८ करोड २१ लाख रुपैयाँ थियो ।
त्यस्तै, कम्पनीको स्पेशल रिजर्भमा २ अर्ब ८ करोड २१ लाख रुपैयाँ, रिर्टेन्ड अर्निङमा २७ करोड ४७ लाख रुपैयाँ र अन्य इक्युटीमा ३९ करोड २६ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ९१ करोड ३१ लाख रुपैयाँ, रिर्टेन्ड अर्निङमा ३० करोड १५ लाख रुपैयाँ र अन्य इक्युटीमा ४१ करोड ४२ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको सोल्भेन्सी अनुपात ४३८.१० प्रतिशत रहेको छ । यसले कम्पनीको जोखिम बहन गर्न सक्ने र बीमितहरूको दाबी भुक्तानी गर्न सक्ने क्षमता अत्यन्तै उच्च र सुरक्षित रहेको देखाउँछ ।
दाबी दायित्व बढ्दा नाफामा संकुचन
व्यवसाय र आन्तरिक वित्तीय जग बलियो भए पनि समीक्षा अवधिमा कम्पनीको खुद नाफामा भने संकुचन आएको छ ।
दाबी भुक्तानी तथा दाबी दायित्व रकममा भएको वृद्धिका कारण खुद नाफा ३६.५३ प्रतिशतले घटेर ३३ करोड ८८ लाख रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्ष कम्पनीले ५३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १३ रुपैयाँ ५१ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३.५१ रुपैयाँ, पिई अनुपात ३८.४८ रुपैयाँ रहेको छ ।
