News Portal

  • एनएमबि बैंकको नेतृत्वमा तिला जलविद्युत आयोजनामा साढे ४४ अर्ब बढी ऋण लगानी हुने

    आर्थीकसंसार संवाददाता३ भदौ, २०८३
    ५३ पटक
    ३ भदौ, २०८३

    काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोटमा निर्माण हुने ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ ।

    कालीकोटको तिला खोलामा एस.सी. पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको आयोजनाको कुल अनुमानित लागत ५९ अर्ब ४० करोड रुपैयाँ रहेको छ । उक्त लागतको ४४ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी हुने भएको छ ।

    वित्तीय व्यवस्थापनमा एनएमबि बैंक अगुवा बैंकका रूपमा रहेको छ । ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र प्रभु बैंक सह–अगुवा बैंकका रूपमा सहभागी छन् । अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाले समेत आयोजनामा सहभागी लगानीकर्ताका रूपमा ऋण लगानी गर्नेछन् ।

    एस.सी. पावर कम्पनीको मुख्य नेतृत्व सुसन कर्माचार्य तथा उनको समूहले गरेको छ । आयोजनाको उत्पादन अनुमतिपत्रअनुसार यसको जडित क्षमता ४४० मेगावाट रहेको छ ।

    आयोजनाले विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार २०८७ पुस १५ अर्थात् ३१ डिसेम्बर २०३० देखि व्यावसायिक उत्पादन सुरु गर्नुपर्नेछ ।

    वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा एनएमबि बैंकका सहायक महाप्रबन्धक दिनेश दुलाल र एस.सी. पावर कम्पनीका अध्यक्ष सुसन कर्माचार्यले हस्ताक्षर गरेका छन् ।

    निजी क्षेत्रको लगानी तथा नेतृत्वमा अघि बढाइएको यो आयोजना जडित क्षमताका आधारमा हालसम्मकै ठूलो जलविद्युत आयोजना भएको कम्पनीले जनाएको छ ।

    आयोजना निर्माण सम्पन्न भएपछि पहिलो वर्ष करिब ११ अर्ब ४० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

    एनएमबि बैंकले वातावरणीय तथा सामाजिक पक्षलाई प्राथमिकतामा राख्दै आयोजनामा लगानी गरेको जनाएको छ । बैंकले नेपाल राष्ट्र बैंकको वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिकाअनुसार वातावरणीय तथा सामाजिक नीति तथा व्यवस्थापन प्रणाली कार्यान्वयन गर्दै आएको छ ।

    आयोजनाको वातावरणीय, सामाजिक तथा सुशासनसम्बन्धी पक्षको अध्ययन तथा मूल्यांकनसमेत गरिएको बैंकले जनाएको छ । अन्तर्राष्ट्रिय असल अभ्यासअनुसार हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्स (एचएसए) द्वारा विकसित हाइड्रोपावर सस्टेनेबिलिटी टुल प्रारम्भिक वातावरणीय, सामाजिक तथा सुशासन परीक्षणका लागि प्रयोग गरिएको बैंकले जनाएको छ ।

    एनएमबि बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको जनाएको छ ।

    बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्