Skip

News Portal

  • विद्युत् आपूर्ति सुचारु राख्न प्राधिकरणको उच्च सतर्कता

    आर्थीकसंसार संवाददाता११ असोज, २०८३
    ७ पटक
    ११ असोज, २०८३

    काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुग्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति नियमित राख्न तथा प्रभावित क्षेत्रमा अवरुद्ध सेवा यथाशीघ्र पुनःस्थापना गर्न आवश्यक तयारी र समन्वयलाई तीव्र बनाएको छ ।

    हाल देशभरको विद्युत् आपूर्तिको अवस्था, प्रसारण तथा वितरण संरचनाको स्थिति र प्रभावित क्षेत्रबारे निरन्तर जानकारी लिने तथा अनुगमन गर्ने कार्य भइरहेको छ ।

    सम्भावित क्षति तथा विद्युत् आपूर्ति अवरोधलाई तत्काल सुचारु गर्न आवश्यक जनशक्ति, उपकरण तथा सामग्री तयारी अवस्थामा राखी सोही बमोजिम कार्य सुरु गरिएको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आइतबार वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल, ग्रिड सञ्चालन विभागका प्रमुखको सहभागितामा सातै प्रदेशका प्रादेशिक कार्यालय प्रमुख र दुईवटा डिभिजन कार्यालयका प्रमुखहरूसँग जुम विधिमार्फत विद्युतीय संरचनामा पुगेको क्षति र विद्युत आपूर्तिका अवस्थामा छलफल गरी जानकारी लिएका छन् ।

    छलफलका क्रममा विभिन्न प्रदेश तथा क्षेत्रमा भइरहेको वर्षा, बाढीपहिरोबाट विद्युत् संरचनामा परेको प्रभाव, विद्युत् आपूर्तिको वर्तमान अवस्था तथा सम्भावित जोखिमबारे श्रेष्ठले जानकारी लिएका हुन् ।

    प्रभावित क्षेत्रमा यथाशीघ्र विद्युत् सेवा सुचारु गर्न आवश्यक जनशक्ति, उपकरण र सामग्रीको तयारी तथा परिचालन गर्न कार्यकारी निर्देशक श्रेष्ठले कार्यालय प्रमुखहरूलाई निर्देशन दिए ।

    साथै उनले विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक लाइन तथा फिडरमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने व्यवस्था र क्षतिग्रस्त संरचनाको अवस्था मूल्याङ्कन गरी सुरक्षित रूपमा मर्मत तथा पुनःस्थापनाको काम तत्काल अघि बढाउन निर्देशन दिए ।

    प्रभावित क्षेत्रको अवस्था निरन्तर अनुगमन गर्दै आवश्यकताअनुसार थप जनशक्ति, उपकरण तथा प्राविधिक सामग्री परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

    विद्युत् आपूर्ति अवरुद्ध भएको अवस्थामा सम्भव भएसम्म वैकल्पिक व्यवस्थाबाट आपूर्ति सञ्चालन गर्ने र अवरुद्ध सेवा यथाशीघ्र पुनःस्थापना गर्ने गरी प्राधिकरणले आफ्ना सबै सम्बन्धित कार्यालय तथा प्राविधिक टोलीलाई परिचालन गरिएको छ ।

    प्राकृतिक विपद्का कारण उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले कर्मचारी तथा प्राविधिक जनशक्तिको सुरक्षालाई प्राथमिकतामा राखेर मात्र मर्मत तथा पुनःस्थापनाको काम अघि बढाउन सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिएको छ ।

    प्राधिकरणबाट विद्युत् आपूर्ति प्रणालीको अवस्था केन्द्रीय तहबाट निरन्तर अनुगमन तथा समन्वय गरिरहेको र उपभोक्तालाई सम्भव भएसम्म नियमित विद्युत् सेवा उपलब्ध गराउन तथा अवरुद्ध सेवा छिटोभन्दा छिटो पुनःस्थापना गर्न आवश्यक सबै उपाय अवलम्बन गरिएको छ ।

    प्रतिकृया दिनुहोस्