
१ भदौ, २०८३ काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले स्थापनाको ५०औं वर्षलाई विशेष बनाउँदै १८औं नाडा अटो शो २०२६ आयोजना गर्ने भएको छ ।
भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यस वर्षको अटो शोमा नेपाली उत्पादनसँगै अत्याधुनिक सवारी प्रविधि र रोबोट विशेष आकर्षणका रूपमा रहने भएका छन् ।
नाडाले सोमबार (आज) पत्रकार सम्मेलनमार्फत अटो शोको तयारी, सहभागी ब्रान्ड र प्रदर्शनीका आकर्षणबारे जानकारी दिएको हो ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नाडाको ५० वर्षे यात्रामा अटोमोबाइल क्षेत्र नेपालको आर्थिक तथा औद्योगिक विकासको महत्त्वपूर्ण हिस्सा बन्दै आएको बताए ।
उनका अनुसार यस वर्षको अटो शो केवल सवारी साधनको प्रदर्शनीमा सीमित नभई नेपालको अटोमोबाइल क्षेत्रले हासिल गरेको परिवर्तन र आगामी सम्भावनाको प्रतिबिम्ब बन्नेछ ।
नाडा अटो शो समितिका सभापति अनूपकुमार बरालका अनुसार यस वर्षको प्रदर्शनीलाई नाडाको स्वर्ण उत्सव संस्करणका रूपमा विशेष बनाइँदैछ । करिब ३ लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने मेलामा साना–ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन् ।
प्रदर्शनीमा २३ वटा ब्रान्डका प्यासेन्जर कार, १७ वटा ब्रान्डका लाइट कमर्सियल भेइकल, ३० वटा ब्रान्डका दुईपाङ्ग्रे सवारी तथा १० वटा वित्तीय एवं बीमा कम्पनी सहभागी हुनेछन् । त्यस्तै, पार्टपुर्जा, टायर र ब्याट्रीका लागि मात्रै ७० वटा स्टल छुट्याइएको छ ।
यस वर्षको अटो शोमा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइने भएको छ । ‘मेड इन नेपाल एन्ड मेक फर नेपाल’प्याभिलियनमार्फत स्वदेशमै उत्पादन तथा एसेम्बल भएका सामग्रीलाई छुट्टै स्थानमा प्रदर्शन गरिनेछ ।
मेलाको अर्को प्रमुख आकर्षण आधुनिक रोबोट रहनेछन् । प्रदर्शनीमा जीआई ह्युमनोइड रोबोट र जीओ २ क्वाड्रुपेड रोबोट प्रदर्शन गरिने नाडाले जनाएको छ ।
यी रोबोटले अटोमोबाइल तथा भविष्यको यातायात प्रविधिमा भइरहेको विकासलाई दर्शकमाझ प्रस्तुत गर्नेछन् ।
नाडाका अनुसार नेपाली उत्पादन र नयाँ प्रविधिलाई एउटै छानामुनि प्रस्तुत गर्ने भएकाले यस वर्षको अटो शो अटोमोबाइलप्रेमीका साथै प्रविधिमा रुचि राख्ने दर्शकका लागि समेत विशेष हुने अपेक्षा गरिएको छ ।
यस वर्षको नाडा अटो शोको शीर्ष प्रायोजन एचपी लुब्रिकेन्ट्सले गरेको छ । दर्शकले टिकटिङ पार्टनर खल्ती एपमार्फत अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । निश्चित अवधिका लागि टिकट खरिदमा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
दर्शकको सहजताका लागि नेपाल पुलिस क्लब र नेशनल ट्रेडिङको परिसरमा पार्किङको व्यवस्था गरिने भएको छ । त्यहाँबाट प्रदर्शनीस्थलसम्म आउजाउ गर्न सटल बस सेवासमेत सञ्चालन गरिनेछ ।
मेलास्थलमा सुरक्षा व्यवस्थाका लागि सीसीटीभी निगरानीको व्यवस्था गरिनेछ भने अपाङ्गतामैत्री व्हीलचेयर सेवा, आपत्कालीन स्वास्थ्य टोली तथा ट्राफिक सूचना डेस्क पनि राखिनेछ ।
छ दिनसम्म सञ्चालन हुने नाडा अटो शोमा करिब ७५ हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
शिथिल बनेको अटोमोबाइल बजारलाई चलायमान बनाउन, नयाँ सवारी प्रविधिको प्रवद्र्धन गर्न तथा विशेषगरी विद्युतीय सवारीसाधन (ईभी) लगायतका नवीनतम प्रविधिबारे उपभोक्तालाई जानकारी दिन यस वर्षको अटो शो महत्त्वपूर्ण हुने नाडाको विश्वास छ ।
नाडाले आफ्नो ५०औं वर्षको अवसरमा आयोजना गर्न लागेको भएकाले यसपटकको अटो शो विगतका संस्करणभन्दा थप व्यवस्थित, प्रविधिमैत्री र विविधतापूर्ण बनाउने तयारी गरेको जनाएको छ ।