News Portal

  • एल.पी. ग्यास अभावबारे उद्योग संघको अपिल : उपभोक्तालाई धैर्य गर्न आग्रह

    आर्थीकसंसार संवाददाता
    १६ पटक

    एल.पी. ग्यास अभावबारे उद्योग संघको अपिल : उपभोक्तालाई धैर्य गर्न आग्र
    काठमाडौं । एल.पी. ग्यास उद्योग संघ नेपालले हाल देखिएको ग्यास अभावप्रति ध्यानाकर्षण गराउँदै उपभोक्तालाई धैर्य र संयम अपनाउन आग्रह गरेको छ। संघले एक प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय परिस्थितिका कारण ग्यास आयात प्रभावित भएको र त्यसले बजारमा आपूर्तिमा असहज अवस्था सिर्जना भएको जनाएको हो।
    विज्ञप्तिमा उल्लेख गरिएअनुसार विगत केही समयदेखि एल.पी. ग्यासको माग अत्यधिक बढेका कारण विभिन्न स्थानमा उपभोक्ताले लाइन बस्नुपरेको तथा ग्यास नपाएर फर्किनुपर्ने अवस्था सिर्जना भएको छ। यस अवस्थालाई सम्बोधन गर्न संघले अस्थायी रूपमा आधा सिलिन्डर (७.१ के.जी.) ग्यास वितरण गरिएको जानकारी दिएको छ।
    संघका अनुसार अहिले अन्तर्राष्ट्रिय परिस्थितिमा सुधार आएपछि ग्यास आयात क्रमशः नियमित हुँदै गएको छ। तर, बजारमा अझै अभाव देखिनुको मुख्य कारण मागअनुसार पर्याप्त आपूर्ति हुन नसक्नु रहेको बताइएको छ। दैनिक करिब ४५ हजार मेट्रिक टन ग्यास खपत हुने भए पनि आपूर्ति सोही अनुपातमा हुन नसक्दा समस्या देखिएको हो।
    संघले दीर्घकालीन समाधानका लागि सबै सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको जनाएको छ। साथै, उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न र आवश्यकताअनुसार मात्र प्रयोग गर्न अनुरोध गरिएको छ।
    उद्योगी, विक्रेता तथा आयातकर्ता सबै पक्ष जिम्मेवार र इमानदार भएर काम गरेमा छिट्टै बजार अवस्था सहज बन्ने विश्वास संघले व्यक्त गरेको छ। साथै, उपभोक्तालाई ग्यास वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्न पनि आग्रह गरिएको छ।
    संघका अध्यक्षले आम उपभोक्ताको सहयोग र समझदारीले ग्यास अभावको समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गर्दै सबैलाई संयम अपनाउन अपिल गरेका छन्।

    प्रतिकृया दिनुहोस्