News Portal

  • २ अर्बमा ९ मेगावाटको खिम्ती-घ्वाङ आयोजना बन्दै, एनएमबि बैंकको १.२४ अर्ब लगानी

    आर्थीकसंसार संवाददाता१३ साउन, २०८३
    २३ पटक
    १३ साउन, २०८३

    काठमाडौं । दोलखा र रामेछाप जिल्लामा निर्माणाधीन ९ मेगावाट क्षमताको खिम्ती-घ्वाङ साना जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।

    आयोजना प्रवर्द्धक वन्डर्स इनर्जी प्रालि र एनएमबी बैंकबीच मङ्गलबार ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा बैंकका तर्फबाट ‘सस्टेनेबल इनर्जी बैंकिङ’ विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका थिए ।

    कम्पनीका अनुसार दोलखाको जिरी नगरपालिका-१ र रामेछापको गोकुलगङ्गा गाउँपालिका-१ भएर बहने खिम्ती-घ्वाङ खोलामा निर्माण भइरहेको उक्त आयोजना २०८४ साल चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति तथा रूख कटानको अनुमति मन्त्रिपरिषदबाट प्राप्त भइसकेको छ । आवश्यक जग्गा खरिद, पहुँच मार्ग, गोदाम, आवास गृह निर्माणलगायत पूर्व तयारीको काम सम्पन्न भइसकेको छ ।

    यस्तै, सिभिल, हाइड्रो-मेकानिकल र इलेक्ट्रो-मेकानिकल निर्माणको ठेक्का सम्झौतापछि हालसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

    कुल १ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा १ अर्ब २४ करोड रुपैयाँ बैंक ऋणबाट व्यवस्थापन गरिनेछ भने बाँकी ५६ करोड रुपैयाँ स्वपुँजीबाट जुटाइनेछ । त्यसमध्ये ३५ करोड रुपैयाँ जुटिसकेको र बाँकी रकम पनि चाँडै व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको प्रबन्ध सञ्चालक दुलालले जानकारी दिए ।

    कम्पनीका अनुसार गौरीशङ्कर संरक्षण क्षेत्रभित्र निर्माण भइरहेको यो आयोजना सामाजिक तथा वातावरणीय अन्तर्राष्ट्रिय मापदण्डअनुसार ‘हाइड्रो सेलेक्ट’ उपकरण प्रयोग गरी निर्माण गरिने नेपालकै पहिलो जलविद्युत् आयोजना हुनेछ ।

    प्रतिकृया दिनुहोस्