१५ असार, २०८३काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
सभापति थापाले धान उत्पादन वृद्धि, कृषि आधुनिकीकरण र जलवायुमैत्री प्रविधिको विस्तारमार्फत देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
सोमबार शुभकामना सन्देश जारी गर्दै थापाले नेपाल कृषि प्रधान देश भएकोले कृषि नै सभ्यता, संस्कृति र अर्थतन्त्रको प्रमुख आधार रहेको उल्लेख गरेका छन् । खेतमा पसिना बगाएर राष्ट्रको खाद्य सुरक्षा सुनिश्चित गर्ने किसानप्रति सम्मान व्यक्त गर्दै उनले किसानको श्रम र योगदानलाई राज्यले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् ।
उनले असार १५ केवल धान रोपाइँको दिन मात्र नभई नेपाली किसानको श्रम, सङ्घर्ष, आशा र आत्मनिर्भरताको उत्सव भएको उल्लेख गरेका छन् । खेतमा रोपिने प्रत्येक धानको बिरुवासँग किसानका सपना, परिवारको भविष्य र राष्ट्रको समृद्धि जोडिएको उनको भनाइ छ ।
थापाले नेपालको संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक अधिकारका रूपमा प्रत्याभूत गरेको स्मरण गराउँदै धानको उत्पादकत्व वृद्धि गर्नु कृषि क्षेत्रको मात्र नभई नागरिकको खाद्य अधिकार सुनिश्चित गर्ने दायित्व पनि भएको बताएका छन् ।
यद्यपि हरेक वर्ष किसानले बीउ, मल, सिँचाइ सुविधा र उत्पादनको उचित मूल्य नपाउने समस्याबाट गुज्रिनुपरेको उल्लेख गर्दै उनले नेपालको धान खेती अझै पनि वर्षा र आकाशे पानीमा अत्यधिक निर्भर रहेको यथार्थ औँल्याएका छन् । समयमै वर्षा नहुँदा उत्पादन घट्ने र अत्यधिक वर्षाले पनि किसानले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै जलवायु परिवर्तनले कृषि क्षेत्रमा थप चुनौती सिर्जना गरेको उनको भनाइ छ ।
यस वर्षको राष्ट्रिय धान दिवसको नारा जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धिलाई स्मरण गर्दै थापाले परम्परागत र जोखिमयुक्त खेती प्रणालीबाट माथि उठेर मौसमअनुकूल तथा वातावरणमैत्री कृषि प्रविधिको विस्तार गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् ।
जलवायुमैत्री प्रविधिको प्रयोगले प्रतिकूल मौसमका बीच पनि धान उत्पादन बढाउन सहयोग पुग्ने, बढ्दो चामल आयात घटाउने तथा खाद्य सम्प्रभुता र राष्ट्रिय स्वाधीनता सुदृढ बनाउन योगदान पुग्ने उनको विश्वास छ ।
