Skip

News Portal

  • किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह

    आर्थीकसंसार संवाददाता१० असोज, २०८३
    ६० पटक
    १० असोज, २०८३

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले किसानलाई तत्काल धान नकाट्न आग्रह गरेको छ ।

    देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि विभागले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।

    उनले प्रतिकूल मौसममा हतार गर्दा बाली तथा जनधनको क्षति हुन सक्ने भएकाले मौसम खुलेपछि मात्र धान काट्ने योजना बनाउन किसानलाई आग्रह गरे ।

    विशेषगरी जमिन चिरा परेको वा सानो पहिरो देखिएको क्षेत्रमा जोखिम उच्च हुने भन्दै उनले त्यस्ता स्थानका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानमा सर्न र छिमेकीलाई समेत सचेत गराउन अनुरोध गरे ।

    उनले भने, ‘किसान तथा सर्वसाधारणले तत्काल धान नकाट्नुहोला । मौसमको अवस्था बुझेर आगामी दिनमा मौसम खुलेपछि मात्र धान काट्ने योजना बनाउनुहोला ।’

    उनका अनुसार नेपालको पूर्वी भूभागमा मौसममा क्रमिक सुधार हुँदै गएको छ । केही स्थानमा मात्र हल्कादेखि मध्यम वर्षा भइरहेको छ । तर पश्चिमी भूभागमा भने भोलि दिउँसोसम्म वर्षाको प्रभाव देखिने सम्भावना छ ।

    ‘विशेषगरी पश्चिमी क्षेत्रमा लगातार तीन–चार दिनदेखि पानी परिरहेको छ । भोलिसम्म थप वर्षा हुन सक्ने सम्भावना रहेकाले ती क्षेत्र बढी जोखिममा छन् । त्यसैले सबैले सावधानी र सतर्कता अपनाउनुपर्ने देखिन्छ,’ उनले भ ने।

    यस्तै, नदी तथा खोला किनारमा बसोबास गर्ने समुदायलाई जलसतह बढ्न सक्ने भएकाले थप सजग रहन विभागले आग्रह गरेको छ । स्थानीय प्रशासन र प्रहरीले गर्ने माइकिङ तथा साइरनलाई बेवास्ता नगर्न पनि विभागले जोड दिएको छ ।

    विपद्का समयमा सूचनाको पहुँच महत्त्वपूर्ण हुने भएकाले सर्वसाधारणलाई मौसमसम्बन्धी पछिल्लो जानकारी नियमित रूपमा लिन विभागले आग्रह गरेको छ । मौसमसम्बन्धी जिज्ञासा वा जानकारीका लागि विभागको टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्नसमेत अनुरोध गरिएको  छ।

    प्रतिकृया दिनुहोस्