News Portal

  • सम्पत्ति शुद्धीकरण निवारणमा सिटिजन लाइफको जोड, अभिमुखीकरण कार्यक्रम आयोजना

    आर्थीकसंसार संवाददाता२१ जेठ, २०८३
    २२ पटक
    २१ जेठ, २०८३

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा हुने वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

    कम्पनीका आधारभूत सेयरधनी, सञ्चालक समिति तथा उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको सहभागितामा उक्त कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो ।

    कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछाने र उपनिर्देशक पदम प्रसाद सोडारीले सहजीकरण गर्दै वित्तीय अपराध नियन्त्रण, सम्पत्ति शुद्धीकरण तथा आतंककारी गतिविधिमा हुने वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड, नियामकीय अपेक्षा तथा बीमा क्षेत्रको भूमिकाबारे प्रस्तुतीकरण गरेका थिए ।

    अभिमुखीकरणमा सञ्चालक समिति तथा व्यवस्थापनको भूमिका र जिम्मेवारी, सम्पत्ति शुद्धीकरण तथा आतंककारी वित्तीय लगानी निवारण नीति तथा कार्यविधिको स्वीकृति र कार्यान्वयन, जोखिममा आधारित दृष्टिकोणको अवलम्बन, संस्थागत जोखिम मूल्याङ्कन, सुशासन तथा प्रभावकारी निगरानी प्रणालीजस्ता विषयमा विस्तृत छलफल भएको कम्पनीले जनाएको छ ।

    त्यसैगरी सीमा पार वित्तीय कारोबारको निगरानी, बीमा तथा पुनर्बीमा कोषको प्रभावकारी नियन्त्रण, अन्तर्राष्ट्रिय मापदण्ड तथा बीमा मूल सिद्धान्त–२२ को पालना, लाभग्राही स्वामित्व सम्बन्धी पारदर्शिता, स्वार्थको द्वन्द्व न्यूनीकरण, शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन प्रणालीको प्रभावकारी कार्यान्वयनलगायत विषयहरूलाई समेत समेटिएको थियो ।

    कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले वित्तीय प्रणालीको पारदर्शिता, सुशासन तथा नियामकीय अनुपालनलाई संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याए ।

    समापन सत्रमा अध्यक्ष प्रदीपजंग पाण्डेले सम्पत्ति शुद्धीकरण तथा आतंककारी वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय प्रतिबद्धता सफल बनाउन बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै कम्पनीले नियामकीय व्यवस्थाहरूको पूर्ण पालना गर्दै वित्तीय प्रणालीलाई थप पारदर्शी, उत्तरदायी र विश्वसनीय बनाउन योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

    कम्पनीले भविष्यमा पनि यस्ता अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्