१० पुस, २०८२काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको रेमिट्यान्स आज देशको अर्थतन्त्रको मेरुदण्ड बनेको छ । यही यथार्थलाई आत्मसात गर्दै सिटिजन्स बैंकले डिजिटल रेमिट्यान्स सेवामा उल्लेखनीय फड्को मारेको छ । बैंकले आफ्नै सिटिजन्स मोबाइल बैंकिङ एप मार्फत घरमै बसेर रेमिट्यान्स प्राप्त गर्न सकिने सुविधा दिएको छ ।
सिटिजन्स बैंकका अनुसार बैंकमा खाता भएका र मोबाइल बैंकिङ एप प्रयोगकर्ताले विदेशबाट आएको रेमिट्यान्स सिधै आफ्नो खातामा प्राप्त गर्न सक्छन् । मोबाइल एपमा लगइन गरी सेन्ड मनीमा गएर सिटिजन्स रेमिटमा क्लिक गरेपछि आवश्यक विवरण भरेर रेमिट्यान्स प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
मोबाइल एप मात्र होइन, सिटिजन्स बैंकका २०० भन्दा बढी शाखा, ३ एक्सटेन्सन काउन्टर, २० हजारभन्दा बढी एजेन्ट, साथै खल्ती, ईसेवा, सिटी पे जस्ता डिजिटल वालेटबाट पनि रेमिट्यान्स रकम प्राप्त गर्न सकिने उनले बताए । यसले ग्राहकलाई आफ्नो अनुकूलताअनुसार पैसा लिन सक्ने स्वतन्त्रता दिएको उनको भनाइ छ ।
सिटिजन्स बैंकले गल्फ (खाडी) मुलुक, मलेसिया, यूएई, अमेरिका, युरोप, अस्ट्रेलिया, सिंगापुरलगायत ५० भन्दा बढी देशमा प्रत्यक्ष टाइअप गरेको छ । त्यसैगरी नेपालका प्रमुख रेमिट्यान्स कम्पनी आईएमई, प्रभु, सिटी एक्सप्रेसलगायतबाट पठाएको रकम पनि सिटिजन्स बैंकमार्फत प्राप्त गर्न सकिने उनले बताए ।
विदेशबाट पैसा पठाउँदा लाग्ने सेवा शुल्क देश र रकमको आकारअनुसार फरक पर्ने भए पनि सामान्यतया शून्यदेखि अधिकतम २२ दिरामसम्म मात्र लाग्ने बैंकको भनाइ छ । तर, सिटिजन्स बैंकबाट रेमिट्यान्स प्राप्त गर्दा भने कुनै शुल्क नलाग्ने उनले बताए ।
श्रेष्ठका अनुसार, सिटिजन्स बैंकले रेमिट्यान्सलाई पूर्ण रूपमा डिजिटल बनाएको छ । ‘ग्राहकलाई सजिलो र छिटो सेवा दिने हाम्रो उद्देश्य हो । त्यसकारण पठाउने ठाउँ पनि डिजिटलाइज र पाउने ठाउँमा डिजिटलाइज भएको हुनाले सिटिजन्स बैंक नै रोज्दा ग्राहकलाई सहज हुने भयो,’ उनले भने ।
विभाग प्रमुख श्रेष्ठका अन्सार देशको जिडीपीमा रेमिट्यान्सको २५ देखि ३० प्रतिशत योगदान छ । अर्थतन्त्रको लाइफलाइन नै रेमिटेन्स बनिरहेको उनले बताए । रेमिटेन्स धेरै आउँदा बैंकहरुमा डिपोजिट पनि बढेको र नेपालीहरुको खर्च गर्ने क्षमता पनि बढेको उनको भनाइ छ ।
‘राम्रो विद्यालय पढ्न पाएका छन्, राम्रो लुगा लगायत र मिठोमसिनो खान पाएका छन् । पहिला खान लाउन गाह्रो हुने मान्छे अहिले अलिकति खर्च गरिरहेका छन् । खरको घर भएको मान्छेले टायलको घर बनाएको छ, छोराछोरीले राम्रो स्कुल पढ्न पाएको छ, राम्रो औषधि उपचार गर्न पाएको छ,’ उनले भने, ‘रेमिट्यान्सले नेपालमा मात्रै नभएर अन्य देशमा पनि राम्रो व्यवस्था गरेको छ ।’
उनका अनुसार नेपालमा वार्षिक ५ देखि ७ लाख काम गर्न योग्य मान्छे तयार हुन्छन् । उनीहरुलाई नेपालमा काम गर्ने अवसर नहुँदासम्म विदेश जानु पर्ने बाध्यता रहेको उनले बताए ।


