News Portal

  • भूकम्पले क्षति पुर्‍याएको जनप्रिय आधारभूत विद्यालयलाई सिद्धार्थ बैंकले बनाइदियो नयाँ भवन

    आर्थीकसंसार संवाददाता१९ जेठ, २०८३
    २४ पटक
    १९ जेठ, २०८३

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित भूकम्प प्रभावित श्री जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।

    बैंकको आर्थिक सहयोगमा सानीभेरी गाउँपालिका–१, भण्डारवनमा रहेको विद्यालयको नयाँ भवन तथा सुलभ पहुँचयुक्त शौचालय निर्माण सम्पन्न भएपछि आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले भवन उद्घाटन गर्दै विद्यालयका प्रधानाध्यापक हंसा बहादुर खड्कालाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।

    वि.सं. २०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको विद्यालयको भवन पुनर्निर्माणपछि विद्यार्थीहरूले सुरक्षित र व्यवस्थित शैक्षिक वातावरण पाउने अपेक्षा गरिएको छ ।

    हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख मार्केटिङ अधिकृत सुरेशराज महर्जन, कर्पोरेट बैंकिङ प्रमुख प्रशन्न खड्का, लघु, साना तथा मझौला उद्यम बैंकिङ प्रमुख प्रदीप पन्त, मुसिकोट शाखा प्रबन्धक धर्मनन्द अवस्थी, सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, वडा नं. १ का अध्यक्ष टेकबहादुर पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर खड्कालगायत शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत बस्यालले विद्यालय भवन निर्माणलाई केवल भौतिक संरचना निर्माणका रूपमा नभई भूकम्पपछिको पुनःस्थापना, बालबालिकाको सुरक्षित भविष्य र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धताको प्रतीकका रूपमा व्याख्या गरे ।

    उनले विद्यालय बालबालिकाको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधारभूमि भएकाले समयसापेक्ष, गुणस्तरीय र समावेशी शिक्षामा पहुँच सुनिश्चित गर्न बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत भवन निर्माण कार्य सम्पन्न गरेको बताए ।

    बैंकका अनुसार नवनिर्मित भवनले विद्यार्थीहरूलाई सुरक्षित र गुणस्तरीय शिक्षामा पहुँच दिलाउनुका साथै शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन, नियमित पठनपाठनलाई निरन्तरता दिन र समग्र शैक्षिक वातावरण सुदृढ बनाउन सहयोग पुग्नेछ ।

    सिद्धार्थ बैंकले दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका विभिन्न क्षेत्रमा योगदान गर्दै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्