१२ मंसिर, २०८२काठमाडौं । सिटिजन्स बैंकको १९औं वार्षिक साधारण सभा (एजीएम) आज बस्दैछ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँको ५ प्रतिशतले हुन आउने ७३ करोड ८४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतले हुने ३ करोड ८८ लाख ६५ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत अर्थात् ७७ करोड ७३ लाख १६ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो ।
साधारण सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नुका साथै संस्थापक समूहबाट १ र सर्वसाधारण समूहबाट ३ जना गरी ४ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
गत वर्ष बैंकको कुल सम्पत्ति १०.१९ प्रतिशतले वृद्धि भएर २ खर्ब ४५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । जबकी अघिल्लो आर्थिक वर्षको २ अर्ब २२ अर्ब ८६ करोड रुपैयाँ कुल सम्पत्ति थियो ।
समीक्षा वर्षमा बैंकको निक्षेप संकलन ११.७९ प्रतिशत बढेर २ खर्ब १४ अर्ब ८ करोढ रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब ९१ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
बैंकको तथ्याङ्क अनुसार कुल निक्षेपमा सर्वसाधारण ग्राहकको २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने बैंक तथा वित्तीय संस्थाको २ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । यस्तै, कुल निक्षेपमा चल्तीतर्फको ५.३२ प्रतिशत, बचतको ३४.२६ प्रतिशत, मुद्दतीको ५१.८३ प्रतिशत, मागेको बखत तिर्नुपर्ने ८.०५ प्रतिशत र बाँकी अन्य निक्षेप रहेको बैंकले जनाएको छ ।
बैंकका अनुसार गत वर्ष कुल कर्जा १.१५ प्रतिशत बढेर १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ गरेको छ । अघिल्लो आवमा बैंकले १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । जसमध्ये १ खर्ब ७३ अर्ब ८९ करोड रुपैयाँ सर्वसाधारणलाई र १ अर्ब २६ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गरेको छ । २०८२ असारसम्ममा कुल कर्जामध्ये रियल स्टेटमा २.७७ प्रतिशत, हाउजिङ्गमा ६.३८ प्रतिशत, मार्जिन लेन्डिङ्गमा ४.०१ प्रतिशत, अधिविकर्ष कर्जामा ३.१३ प्रतिशत, आवधिक कर्जामा ४४.४६ प्रतिशत, डिमाण्ड तथा चालु पुँजी कर्जामा ९.८७ प्रतिशत, हायर पर्चेजमा २.५७ प्रतिशत, विपन्न वर्ग लक्षितमा ६.८१ प्रतिशत र अन्य कर्जामा १९.७० प्रतिशत लगानी रहेको बैंकले जनाएको छ ।
साथै, प्राथमिकता प्राप्त क्षेत्रमा ३३.६ प्रतिशत लगानी गरेको छ, जसमध्ये कृषि क्षेत्रमा ११.७७ प्रतिशत छ । यस्तै, हाइड्रोपावर प्रोजेक्टका लागि स्वीकृत कुल सीमा ४३ अर्ब ८ करोड रुपैयाँमध्ये २० अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरी जलविद्युत क्षेत्रको विकासमा योगदान पु¥याएको बैंकले जनाएको छ । करिब १ हजार २२७.०८ मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनामा कर्जा लगानी गरेको दाबी सिटिजन्स बैंकको छ ।
२०८२ असार मसान्तसम्ममा ६ हजार ६७१ वटा साना तथा मझौला कर्जा शीर्षक अन्तर्गत कुल १५ अर्ब ३१ करोड रुपैयाँ लगानी गरेको छ । कृषि तथा साना व्यवसायलाई लक्षित ९ हवार २९७ वटा फास्ट ट्रयाक लोन शीर्षक अन्तर्गत कुल कर्जा ६ अर्ब ५० करोड रुपैयाँ र कृषि तथा उद्यम कर्जामा १८ अर्ब ९६ करोड रपैयाँ तथा कृषि ऋणपत्र तर्फ ६६ करोड ९० लाख रुपैयाँ सहित बैंकले कृषि क्षेत्रमा कुल १९ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेको छ ।
कृषिलाई थप योगदान पु¥याउने उद्देश्यले ‘एक क्षेत्र एक उत्पादन/एक जिल्ला एक उत्पादन’ को रणनीति तयार पारी १ हजार ९२२ वटा ऋणीलाई २ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यसैगरी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०७६ अन्तर्गतका विभिन्न क्षेत्रमा कुल २ हजार ५४८ ऋणीलाई १ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
अघिल्लो वर्ष ५.७२ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेको गत वर्ष १२.०८ प्रतिशत बढेर ६.४१ अर्ब रुपैयाँ गरेको जनाएको छ । अघिल्लो वर्ष गैह्र ब्याज आम्दानी १ अर्ब ५१ करोड रुपैयाँ रहेकोमा गत वर्ष २८.१८ प्रतिशत बढेर १ अर्ब ९४ करोड रुपैयाँ गरेको छ ।
कुल सञ्चालन खर्च अघिल्लो वर्ष ३ अर्ब ४३ करोड रुपैयाँ थियो भने गत वर्ष शाखा सञ्जाल वृद्धि, घर भाडा, बीमा शुल्क, स्टेशनरी, पोशाक खर्च, सुरक्षा खर्च, इन्टरनेट जडान जस्ता खर्चले कुल सञ्चालन खर्च ६.८४ प्रतिशत बढेर ३ अर्ब ६७ करोड पुगेको बैंकले जनाएको छ । गत आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा पुँजी कोष अनुपात १२.४७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष पुँजी कोष अनुपात १३.०६ प्रतिशत थियो ।
बैंकको उपस्थिति नभएको स्थानमा व्यवसाय विस्तार गर्न गत वर्ष बैंकले काठमाडौंको पानीपोखरी, ललितपुरको हरिसिद्धि र खोटाङको दिक्तेलमा नयाँ शाखा विस्तार गरी २ सय शाखा पुर्याएको छ । यस्तै, बैंकले थप ६ वटा एटीएम सञ्चालनमा ल्याएसँगै कुल एटीएमको संख्या १६८ वटा र पीओएसको संख्या ५१६ वटा पुगेको जनाएको छ । बैंकका अनुसार डेबिट कार्डको संख्या ४ लाख २ हजार २ सय वटा, क्रेडिट कार्डको संख्या ५ हजार १३४ वटा र प्रिपेड कार्डको संख्या ५ हजार २६६ वटा रहेको छ ।
सेवा सुविधालाई सरल, सहज र सुरक्षित रुपमा ग्राहक समक्ष पु¥याउन बैंकले नविन प्रविधिको प्रयोगमा जोड दिइरहेको छ । बैंकले आफ्नो डाटा सेन्टरलाई थप सबल भौतिक पूर्वाधार भएको स्थानमा स्थानान्तरण गरेको छ । जसले गर्दा डाटा सेन्टरमा हुने विद्युतीय तथा अन्य भौतिक जोखिमहरु पनि न्यूनीकरणमा सहयोग भई बैंकको आन्तरिक तथा ग्राहक केन्द्रित सेवाहरुलाई सदैब सुचारु अवस्थामा राख्न थप टेवा मिल्ने बैंकले जनाएको छ ।
बैंकिङ्ग सेवालाई भरपर्दो र गुणस्तरीय बनाउनको लागि इन्फोसिसले विकास गरेको विश्वकै उत्कृष्ट बैंकिङ्ग सफ्टवेयरमा पर्ने फिनाकल कोर बैंकिङ सिस्टम प्रयोग गर्दै आएको छ र साथै फिनाकल भर्जन तथा फिचरलाई अद्यावधिक गर्ने कार्य भइरहेको बैंकले जनाएको छ ।
विदेशमा रहेका नागरिकलाई सेवा प्रदान गर्न उद्देश्यका साथ बैंकको सिटिजन्स रेमिट सेवा सञ्चालनमा छ । उक्त सेवामार्फत बैंकले विप्रेषण कारोबार सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले गत वर्ष कुल ३ करोड २६ लाख २० हजार ५ सय ६६ अमेरिकी डलर बराबरको विप्रेषण भित्र्याएको छ । जसबाट बैंकलाई २ करोड ६५ लाख ६८ हजार १९१ रुपैयाँ आम्दानी भएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही बमोजिम गत वर्ष बैंकले स्वास्थ्यमा २१ लाख ४३ हजार रुपैयाँ, शैक्षिक क्षेत्रमा २८ लाख ८४ हजार रुपैयाँ, वातावरण संरक्षणमा ६ लाख ३९ हजार रुपैयाँ, वित्तीय साक्षरताका निम्ति २६ लाख रुपैयाँ, मानवीय सहयोग तथा राहतमा ४८ लाख ८ हजार रुपैयाँ, दिगो विकासका लक्ष्यमा ६ लाख २५ हजार रुपैयाँ गरी विभिन्न संघ संस्थालाई १ करोड ४७ लाख ६२ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकको तथ्याङ्क अनुसार २०८२ असारसम्म कुल १ हजार ८०७ जना कर्मचारी कार्यरत छन् । गत वर्ष १६८ जना नयाँ कर्मचारी थपिएका छन् भने १४५ जना कर्मचारी नै बैंकबाट बाहिरिएका छन् । कुल कर्मचारीमध्ये ७७२ जना (४२.७२ प्रतिशत) महिला रहेको बैंकको दाबी छ । गत वर्ष कर्मचारीको दक्षता अभिवृद्धि गर्न २ करोड ६८ लाख रुपैयाँ खर्च गरेको तथ्याङ्क छ ।
गत आव २०८१/८२ मा बैंकले अग्रिम आयकर बापत ५० करोड रुपैयाँ, विभिन्न भुक्तानीमा कर कट्टी गरेबापत ९१ करोड ९८ लाख १६ हजार रुपैयाँ ठूला करदाता कार्यालयमा र २ करोड ३५ लाख ९८ हजार रुपैयाँ अन्य आन्तरिक राजस्व कार्यालयमा गरी कुल १ अर्ब ४४ करोड ३४ लाख १५ हजार रुपैयाँ राजस्व सरकारलाई भुक्तानी गरेको जनाएको छ ।
बैंकमा चुनौती
सिटिजन्स बैंकले बैंकिङ क्षेत्रका लागि जेनजी आन्दोलनदेखि साइबर सुरक्षासम्मको खतरा देखाएको छ । नेपालको बैंकिङ क्षेत्र अहिले जटिल र बहुआयामिक चुनौतीको घेरामा परेको बैंकले जनाएको छ । जसले आगामी दिनमा बैंकिङ सञ्चालन थप कठिन बन्न सक्ने बैंकको निष्कर्श छ । परम्परागत आर्थिक तथा वित्तीय जोखिम मात्र नभई सामाजिक, राजनीतिक र प्राविधिक पक्षबाट उत्पन्न हुने नयाँ र गम्भीर खतराहरू बैंकले समावेश गरेको छ ।
आधुनिक बैंकिङको सबैभन्दा ठूलो टाउको दुखाइ सञ्चालन र प्रविधिमा केन्द्रित भएको छ । डिजिटलीकरण बढेसँगै बैंकिङ्ग कारोबारमा साइबर आक्रमण, डेटा चोरी, र सिस्टम ह्याक हुने जोखिम गम्भीर बनेको छ । सूचना प्रविधिको विकाससँगै जोडिएका सञ्चालन जोखिमहरूलाई व्यवस्थापन गर्नु बैंकहरूका लागि महँगो र जटिल बन्दै गएको छ ।
आर्थिक, मौद्रिक तथा वित्तीय नीतिमा हुने आकस्मिक परिवर्तन, अन्तर्राष्ट्रिय बजारमा हुने मन्दी, विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा आउने उतार चढाव र विदेशी विनिमय दरमा हुने परिवर्तनले बैंकको कारोबारमा सीधा असर पार्ने देखिएको छ ।
यस्तै, तरलतामा हुने उतार चढावका कारण निक्षेप तथा कर्जाको ब्याजदरमा हुने परिवर्तन र लगानीयोग्य तरलताको अभावबाट व्यवसाय वृद्धिमा आउन सक्ने जोखिमले बैंकहरूलाई दबाब दिएको छ । यसको विपरीत, अत्यधिक तरलताका कारण बढेको तीव्र बैंकिङ्ग प्रतिस्पर्धाले नाफामा असर पारेको देखिन्छ ।
समयमै कर्जा असुली नभई उत्पन्न हुने जोखिम र गैरकोषीय सेवा (प्रतीतपत्र/जमानतपत्र) जारी गर्दा हुन सक्ने जोखिम प्रमुख छन् । पुँजी बजारमा आउन सक्ने उतारचढाव र वैकल्पिक लगानी क्षेत्रको अभावले बैंकको लगानी पोर्टफोलियोलाई जोखिममा राखेको बैंकले जनाएको छ ।
आम्दानीको स्रोत साँघुरिएको बेला पनि लगानीकर्तालाई निरन्तर उच्च प्रतिफल प्रदान गरिरहने चुनौतीले बैंकको व्यवस्थापनमा ठूलो दबाब सिर्जना गरेको छ । आधुनिक बैंकिङको सबैभन्दा ठूलो टाउको दुखाइ सञ्चालन र प्रविधिमा केन्द्रित भएको छ । डिजिटलीकरण बढेसँगै बैंकिङ्ग कारोबारमा साइबर आक्रमण, डेटा चोरी, र सिस्टम ह्याक हुने जोखिम गम्भीर बनेको छ । सूचना प्रविधिको विकाससँगै जोडिएका सञ्चालन जोखिमलाई व्यवस्थापन गर्नु बैंकहरूका लागि महँगो र जटिल बनेको छ ।
सम्पत्ति शुद्धीकरणलाई रोक्नका लागि देशमा केन्द्रीकृत तथ्याङ्क र पर्याप्त प्रविधिहरूको अभावले नेपाललाई अन्तर्राष्ट्रिय अनुपालनको चुनौतीमा पारेको छ । जलवायु परिवर्तन र प्राकृतिक प्रकोपहरूबाट उत्पन्न हुने जोखिमलाई समेत प्रमुख खतराको सूचीमा राखिएको छ, जसले बैंकिङ क्षेत्रमा उदीयमान जोखिमको आयामलाई स्पष्ट पारेको छ ।
कुन कोषमा कति छुट्यायो ?
बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २८ करोड ७० लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । उक्त नाफाको २० प्रतिशत अर्थात् २५ करोड ७४ लाख १५ हजार रुपैयाँ साधारण जगेडा कोषमा छुट्याइएको छ । यस्तै, नाफाको २५ प्रतिशत अर्थात् १४ लाख १५ हजार रुपैयाँ सटही समीकरण कोष, १ प्रतिशत अर्थात १ करोड २८ लाख ७० हजार रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याइएको छ ।
यस्तै, कर्मचारी क्षमता अभिवृद्धि कोष अन्तर्गत १ करोड २४ लाख ५ हजार छुट्याइएको छ भने २३ करोड ७० लाख ४१ हजार रुपैयाँ नियमनकारी कोषबाट सञ्चित मुनाफामा फिर्ता गरिएको छ । गैह्रबैंकिङ्ग सम्पत्तिको निमित्त जम्मा गरिएको नियमनकारी कोष रकममा समेत यस वर्षको समायोजन अनुसार १० करोड ९९ लाख ६७ हजार रुपैयाँ नियमनकारी कोषमा विनियोजन गरिएको छ भने बिमाङ्किक लाभको निमित्त नियमनकारी कोषमा ३९ लाख २ हजार रुपैयाँ र स्थगन कर सम्पत्ति बापत ३ करोड २ लाख ६१ हजार रुपैयाँ नियमनकारी कोषमा विनियोजन गरिएको छ ।
यसैगरी, नाफा नोक्सान मार्फत उचित मोलमा मापन गरिएका व्यापारिक सम्पत्तिको प्राप्त भइ नसकेको यस वर्षको नाफा रकमको निमित्त २ करोड ६ लाख ११ हजार रुपैयाँ नियमनकारी कोषमा विनियोजन गरिएको छ । साथै, पुँजीकृत ब्याज आम्दानीको निमित्त जम्मा गरिएको नियमनकारी कोषबाट चालु आ.व. को समायोजन पश्चात् सञ्चित मुनाफामा ६१ लाख ३९ हजार रुपैयाँ फिर्ता गरिएको छ ।
बैंक अफ द इयर २०२४ को अवार्ड पाएको सिटिजन्स बैंकका सिटिजन्स क्यापिटल र सिटिजन्स सेयर ब्रोकर गरी २ वटा सहायक कम्पनी छन् । २० करोड रुपैयाँ पुँजी रहेको सिटिजन्स क्यापिटलमा बैंकको ५८.६० प्रतिशत अर्थात् ११ करोड ७२ लाख रुपैयाँ लगानी रहेको छ । क्यापिटलले गत वर्ष ३ करोड ६६ लाख ३२ हजार रुपैयाँ नाफा गर्दा १६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, सतप्रतिशत लगानी रहेको ब्रोकरको पुँजी २० करोड रुपैयाँ छ । गत वर्ष २ करोड १० लाख रुपैयाँ नाफा गर्दा १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।




