
काठमाडौं । नेपालकै पहिलो राष्ट्रिय खाद्य बैंक लिमिटेडले असोज २५ गते साधारण सभा आह्वान गरेको छ ।
सो सभामा बैकले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने सम्बन्धी प्रस्ताव पेश गर्ने तयारी गरेको छ । त्यसैगरी बैकले सो सभामा वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायत प्रस्ताव समेत पारित गर्ने तयारी गरेको छ ।
राष्ट्रिय खाद्य बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीका अनुसार बैंकले पुँजी विस्तार र सर्वसाधारणलाई सहभागि गराउने उद्देश्यले आईपीओ निष्काशन प्रक्रिया अघि बढाएको हो । सभाबाट विशेष प्रस्ताव पारित भएपश्चात् कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिने र आवश्यक स्वीकृति प्राप्त गरेपछि आइपिओ जारी गर्ने तयारी थलेको छ ।
बैंकले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । खाद्य बैंकले एक अर्ब चुक्ता पुँजी पुर्याउनका लागि ७० करोड संस्थापकबाट र बाँकी ३० करोड सर्वसाधारणबाट संकलन गर्न लागेको हो ।
आईपीओ मार्फत संकलन गरिएको पैसा खाद्य बैंकले कृषि क्षेत्रमा लगानी गर्ने अध्यक्ष उप्रेतीले जानकारी दिए ।
