News Portal

  • ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक, पहिलो टिकट किन्दा शतप्रतिशत क्यास ब्याक

    आर्थीकसंसार संवाददाता११ जेठ, २०८२
    १७ पटक
    ११ जेठ, २०८२

    काठमाडौं । ग्लोबल आइएमई बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ग्राहकहरूलाई हवाई यात्रा गर्दा विभिन्न सेवा सुविधा सहित ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ गरेको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र यती एयरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्त रुपमा उक्त कार्डको अनावरण गरे ।

    ग्लोबल स्काई क्लब कार्डवाहकले यती एयरलाइन्सको हरेक हवाई टिकट खरिदमा १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट पाउने छन् भने यो कार्डबाट पहिलो टिकट खरिदमा क्यास ब्याक स्वरूप निःशुल्क टिकट पाइनेछ ।

    साथै, ग्लोबल स्काई क्लब कार्ड लिँदा १०० प्वाइन्ट बोनस प्राप्त हुनेछ । बोनस प्वाइन्ट विभिन्न छुट तथा सुविधाहरुको लागि प्रयोग गर्न सकिनेछ । ग्लोबल स्काई क्लब कार्डमार्फत पोस वा ई–कम बाट हुने कारोबारमा पनि प्रत्येक १०० रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ ।

    कार्ड बाहक ग्राहकहरूले चेक-इन र बोर्डिङमा प्राथमिकताका साथै यात्रामा सामानको निर्धारित तौल भन्दा थप ५ केजी तौल लैजाने सुविधा पनि पाउने छन् ।

    बैंकका सीईओ रेग्मीले यती एयरलाइन्ससँगकाे सहकार्यले डिजिटल कारोबार र ग्राहक मैत्री सेवा विस्तारमा सहयोग पुग्ने बताए। यती एयरलाइन्सका सीईओ सापकोटाले बैंकसँगको यस सहकार्यबाट बैंक र एयरलाइन्स दुवैका ग्राहक तथा सेवाग्राहीलाई सुविधा पुग्ने बताए ।

    कार्यक्रममा ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेल, यती एअरलाइन्सका अकाउन्टेबल म्यानेजर/चिफ बिजनेस अफिसर युवराज विष्टले एक आपसमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । साथै, भविष्यमा दुई संस्थाबीच ग्राहक तथा सेवाग्राहीलाई सुविधा प्रदान गर्ने गरी थप सहकार्य हुने विश्वास व्यक्त गरे । ग्राहकको सुविधालाई मध्येनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्