
काठमाडौं । सिटिजन्स बैंकले कर्णाली प्रदेशको सुर्खेतमा अवस्थित आवाज नेपाललाई सहयोग प्रदान गरेको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट संचालन भइरहेको र करिब ४० जना महिला र बालबालिकालाई सहयोग गरिरहेको सो संस्थालाई बैंकले करिब २ महिनासम्म पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्रीहरू उपलब्ध गराएको जनाएको छ ।
संस्थाले लामो समयदेखि एकल महिला र बालबालिकाको अधिकार, न्याय, मानव अधिकार, मानव ओसारपसार, द्वन्द्व प्रभावित र घरेलु हिंसा जस्ता विषयमा सशक्तीकरणका लागि काम गर्दै आएको छ । सो संस्थालाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग प्रदान गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले सहयोग स्वरुप महिलाहरू र बालबालिकाहरूलाई सामाग्री हस्तान्तरण गरे । सीईओ पोखरेलले संस्थालाई बैंकको प्रयासमा सहयोग गर्न पाउँदा खुशी महसुस भएको बताए । संस्थामा रहेका बालबालिकाहरूको प्रगतिको कामना गर्दै उनले यस्ता संस्थाहरूले एकल महिला र बालबालिकाको अधिकारको हेरचाहको लागि समाजमा उदाहरण बनिरहेको उनको भनाइ छ । हालै बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल यस बैंकले नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै, मोबाइल बैंकिङ एप मार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा बैंकले दिइरहेको छ । यस्तै बैंकले क्रस बैंक टेलर सुविधामा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने सुविधा समेत ल्याएको छ ।
बैंकले ६१ जिल्लामा २ सय वटा शाखा, १६८ वटा एटिएम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरूबाट १८ लाख ९१ हजार भन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।