News Portal

  • समृद्धिका लागि सरकार उद्योगीसँग हातेमालो गर्न तयार छ: मन्त्री भण्डारी

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८१
    ३९ पटक
    ३१ भदौ, २०८१
    काभ्रेपलाञ्चोक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक समृद्धि हासिल गर्न सरकार उद्योगी व्यवसायीसँग हातेमालो गर्न तयार रहेको बताएका छन् ।
    नेपाल इँट्टा उद्योग महासंघको १६औं साधारणसभा उद्घाटन समारोहलाई सोमबार धुलिखेलमा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न इँटा उद्योगलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए ।
    ‘सरकार व्यवसायीसँग हातेमालो गर्दै आर्थिक समृद्धितर्फ उन्मुख हुने अभियान छ । व्यवसायीले पनि सहकार्य गर्ने सोच बनाउनुस्, सरकार तयार छ,’ मन्त्री भण्डारीले भने ।
    उनले व्यवसायीले सरकारलाई विरोधीको आँखाले नहेर्न आग्रह गरे । उनले भने, ‘राष्ट्र सफल बने मेरो पनि व्यवसाय सफल हुन्छ भन्ने व्यवसायीले सोच्नुपर्‍याे ।’
    मन्त्री भण्डारीले व्यवसाय तथा उद्योगमा यथास्थितिकै चुनौति देखिएको उल्लेख गर्दै यसलाई सरकार र व्यवसायी दुवै पक्ष मिलेर सामना गर्नुपर्ने बताए । आफ्नो मन्त्रालयको ‘मन्दीदेखि समृद्धि’ सम्मको अभियानलाई व्यवसायीले पूर्ण साथ दिनुपर्ने उनको धारणा थियो ।
    मन्त्री भण्डारीले देशको आयात र निर्यातको चुनौती समाना गर्न ‘मन्त्रालय–व्यवसायी’ बीच को दूरी कम गर्नुपर्ने आवश्यकता औंल्याए । उनले मन्त्रालयले उद्योग, व्यवसायसम्बन्धी अध्ययन कार्यदल बनाएकाले कार्यदलको प्रतिवेदनअनुसार व्यावसायिक सुदृढीकरणबारे छिट्टै योजना ल्याइने जानकारी दिए ।
    इँट्टा उद्योगलाई प्रविधि एवं जलवायुमैत्री बनाइ रोजगारी प्रवर्द्धन गर्दै वातावरण संरक्षण गर्नुपर्नेमा उनको जोड थियो ।
    कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्यद्वय कञ्चनचन्द्र वादे श्रेष्ठ र लक्ष्मण लम्साललगायतले मन्दीको अवस्थाबाट माथि उठ्न उद्योग व्यवसायीलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
    महासंघका अध्यक्ष शंकरबहादुर चन्दले उद्योगीको बैंकको ऋणको समयावधि थप गरिदिन अनुरोध गरे । उनले आर्थिक मन्दीका कारण ३० प्रतिशत उद्योग बन्द अवस्थामा रहेको जानकारी दिए । उनका अनुसार देशभर एक हजार दुई सय इँट्टा उद्योग महासंघमा आबद्ध छन् ।
    प्रतिकृया दिनुहोस्