काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ । मंगलबार सम्पन्न बैंकको दशौं र एघारौं वार्षिक साधारण सभाले बैंकको ३.८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
त्यस्तै, बैंकको संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ प्रतिशत कायम हुने प्रस्ताव पनि पारित भएको छ ।
सभामा संस्थापक सेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ (तीन) जना संचालकहरुको निर्विरोध निर्वाचन भएको छ । त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकहरुको नियुक्ती अनुमोदन गरेको छ । साथै, सञ्चालक समितिले स्वतन्त्र संचालक नियुक्त गरेको जानकारी समेत सभामा दिएको छ ।
उक्त सभाले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक सुजन काफ्ले एण्ड एसोसियट्स चार्टड एकाउन्टेन्टलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभामा बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरिएको तथा चालु आर्थिक वर्षमा बैंकले सेयरधनीको अपेक्षा बमोजिमको लक्ष्य हासिल गर्ने बताए ।