News Portal

  • महालक्ष्मी लाईफ इन्स्योरेन्सले देशभरका युवाहरुलाई बीमा तालिम दिने

    आर्थीकसंसार संवाददाता२७ भदौ, २०७८
    २०७१ पटक
    २७ भदौ, २०७८

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवा वर्गमा बीमासम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘युवासँग महालक्ष्मी लाईफ’सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
    कम्पनीको सञ्चालक समितिको मिति २०७८ भदौ २५ गतेको निर्णय बमोजिम आश्विन महिनाबाट देशव्यापी बीमा जागरण कार्यक्रम सञ्चालन गर्न लागिएको हो । दुईवर्षे यस अभियानमा आ.व. २०७८/७९ भित्र २५ वटा जिल्ला र आ.व. २०७९/८० मा बाँकी जिल्लामा कार्यक्रम सञ्चालन गरिनेछ ।
    यो कार्यक्रमअन्तर्गत १६ वर्ष माथिका प्लस टु अध्ययन गर्ने विद्यालय र कलेजका युवाहरुलाई लक्षित गरी रोजगारका विभिन्न क्षेत्रहरुको जानकारीको साथै बीमाको बारेमा तालिम प्रदान गरिनेछ । ‘काम गरी आयआर्जन गर– बीमा गरी सुरक्षित बन’ भन्ने मूल विषयवस्तुमा कम्पनीका वरिष्ठ अधिकृत, अनुभवी र सफल अभिकर्ता तथा विज्ञ व्यक्तिहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
    प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा देशभरिका कम्पनीका बरिष्ठ अधिकृत तथा अगुवा अभिकर्ता सम्मिलित बीमा जागरण राष्ट्रिय अभियान केन्द्रिय समिति गठन गर्ने र जिल्ला जिल्लामा प्रभावकारी रुपमा बीमा जागरण कार्यक्रम सञ्चालन गर्न कम्पनीको जिल्लास्थित वरिष्ठ अधिकृतको संयोजकत्वमा जिल्ला समिति गठन गरिनेछ । प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनका अधिकृतहरुले कार्यक्रमको निर्धारण, सञ्चालन र अनुगमन गर्नेछन् । यही आश्विन पहिलो हप्ता धुलिखेलमा आयोजना हुने अभिकर्ता र अधिकृतहरुको भेलाले बीमा जागरण राष्ट्रिय अभियान केन्द्रीय समितिको गठन र नामावलीको घोषणा गर्ने कार्यक्रम रहेको कुरा रमेशकुमार भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्