News Portal

  • राबा बैंकद्वारा ऊर्जा बचत कार्य गरेवापत चार कम्पनीलाई अनुदान रकम हस्तान्तरण

    आर्थीकसंसार संवाददाता२४ भदौ, २०७८
    १६२६ पटक
    २४ भदौ, २०७८

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट KFW बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘Energy Efficiency Program Nepal’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत बिहीबार रकम हस्तान्तरण गरेको छ । बैंकले प्रगति टेक्सटाइल इन्डष्ट्रिज प्रा.लि.लाई एक करोड रुपैयाँ, प्रिमियर वायर्स प्रा.लि.लाई ९३ लाख ६० हजार तीन सय बीस रुपैयाँ, हुलास स्टिल इन्डष्ट्रिज प्रा.लि.लाई ६४ लाख ३७ हजार दुई सय ३१ रुपैयाँ र सालीमार मेटल्स प्रा.लि.लाई ३२ लाख ८ हजार ८ सय रुपैयाँ रकम हस्तान्तरण गरेको छ । मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुनेगरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक बुधबार एक समारोहका बीच हस्तान्तरण गरिएको हो ।
    नेपालका लागि जर्मन राजदूतवास विकास सहयोगका उपप्रमुख सिमोन म्याक्समिलन हिन्केले चेक हस्तान्तरण गर्नुभयो ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापत्र आदानप्रदान गर्दै अन्य उद्योगहरुलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गर्नुभयो । उहाँले हालसम्म २१ वटा उद्योगहरुलाई ९ करोड ९२ लाख रुपैयाँभन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताउनुभयो ।
    नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘Energy Efficiency Program Nepal’ आयोजना कार्यन्वयनको लागि Project Executing Agency (PEA) को रुपमा सहायतासम्बन्धी कार्य गर्ने गरेको छ ।
    यस आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ । यस आयोजनाअन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु. १ करोडसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।
    उक्त समारोहमा NEEP/GIZ का प्रमुख सल्लाहकार फ्राङ्क बुमर, KFW काठमाडौंका प्रतिनीधि निरज सुवेदी, बैंकका विभागीय नायब पमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख विनयरमण पौडेल, उपप्रबन्धक होमराज भट्टराई, एडेल्फीका कन्सल्टेण्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका अधिकारीहरु क्रमशः प्रदीप निरौला, प्रशान्त नेपाल, सन्दीप खड्का, विजयसिंह बैद्यलगायत कर्मचारीहरुकोे उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्