News Portal

  • सिनर्जी पावरको १५औं साधारणसभा सम्पन्न

    प्रस्तावित हकप्रद र लाभांश पारित

    आर्थीकसंसार संवाददाता१९ भदौ, २०७८
    १२२० पटक
    १९ भदौ, २०७८

    काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बालुवाटारमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
    सभामा सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष इन्द्रबहादुर थापाद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिएको छ ।
    सभामा कम्पनीको २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।
    त्यसैगरी सभाले सञ्चालक समितिको प्रति बैठक भत्ता अध्यक्षको १० हजार रुपैयाँ र सदस्यको ८ हजार रुपैयाँको प्रस्ताव समेत पारित गरेको छ । साथै, सभामा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।
    कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २ः१ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । सभामा आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू तथा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेण्डाहरू छलफल गरी पारित गरिएको छ ।

    प्रतिकृया दिनुहोस्