
काठमाडौं । नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ ।
यस सम्झौताअन्तर्गत मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले नबिल बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्सट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट एक्सेप्टेन्स, लोकल बैंक ग्यारेन्टी आदि सुविधाहरु उपभोग गर्न सक्नेछन् ।
यस सहकार्यबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर प्राप्त गर्नेछन् । साथै यस सम्झौतापश्चात दुई बैंकबीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह–वित्तीयकरण कर्जा, विदेशी मुद्रासम्बन्धी अन्य कारोबारसमेत अगाडि बढाउने लक्ष्य राखिएको बताइएको छ ।
साझेदारीको बारेमा बोल्दै नबिल बैकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नबिल बैंकले यस सहकार्यको माध्यमबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुलाई विस्तारित बैंकिङ्ग सुविधा प्रदान गर्न पाउँदा खुसी भएको बताए ।
यस सम्झौताले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले आउँदा दिनहरुमा प्रतितपत्र, बैंक जमानत, डिमाण्ड ड्राफ्टलगायतका वैदेशिक व्यापारमा प्रयोग हुने विभिन्न उपकरणहरु मुक्तिनाथ विकास बैंकका शाखाहरुबाट नै प्राप्त गर्ने भएकाले वैदेशिक व्यापारमा संलग्न ग्राहकहरुलाई समग्र बैकिङ्ग सेवा लिन सुविधा पुग्ने मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले जानकारी दिए ।