News Portal

  • एनआईसी एशियाको व्यवसाय वृद्धिदर उच्च

    आर्थीकसंसार संवाददाता३० साउन, २०७८
    १००४ पटक
    ३० साउन, २०७८

    काठमाडौं । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब २५ करोड खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको भन्दा करिव ५ प्रतिशत बढी हो । बैंकले वार्षिक प्रतिशेयर आम्दानी २८.११ पुर्याएको छ । त्यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल १७.१४ प्रतिशत रहेको छ जुन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी भएको उक्त बैंकको दाबी छ ।
    नाफामा सामान्य वृद्धि भए पनि बैंकको व्यवसायमा ऐतिहासिक वृद्धि भएको सो बैंकले जनाएको छ । आ.व. २०७७/७८ मा यस बैंकले कर्जातर्फ करिब ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम २६५ अर्ब पुर्याउन सफल भएको छ । जुन २७ वटै वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै हो ।
    मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ७१९ अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको सर्वाधिक उच्च (१२.६६ प्रतिशत) बजार हिस्सा रहेको छ । आर्थिक वर्ष ०७७/७८ मा वाणिज्य बैंकहरुमा भएको कुल कर्जा वृद्धिको औसत प्रति बैंक कर्जा वृद्धि रकम करिब २४.१५ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ३.७६ गुणा रहेको छ ।
    यसैगरी बैंकको स्वदेशी मुद्राको निक्षेपतर्फ करिब ९० अर्बले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन २९८ अर्ब पुर्याउन बैंक सफल भएको छ । जुन २७ वटै वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै हो । मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ६५५ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा १३.५८ प्रतिशत रहेको छ । आर्थिक वर्ष ०७७/७८ मा वाणिज्य बैंकहरुमा भएको निक्षेप वृद्धिको औसत प्रति बैंक निक्षेप वृद्धि करिब २१.७३ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ४.१४ गुणा रहेको छ ।
    कोभिड महामारीको बेलामा पनि बैंकले कर्जा असुलीमा सुधार गरेको छ । आव २०७६/७७ को अन्त्यमा ०.७५ प्रतिशत रहेको निष्कृय कर्जालाई आव २०७७/७८ को चौथो त्रयमाससम्ममा ०.४६ प्रतिशतमा झार्न बैंक सफल भएको छ । साथै, गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ । साना तथा मझौला र कृषि कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरूभन्दा यस बैंक अग्रणी स्थानमा रहेको छ ।
    बैंकका प्रमुख १० ग्राहकलाई कुल कर्जाको ३.७ प्रतिशत दिएको छ । यस बैंकको कुल कर्जामा ५ करोड भन्दा कम सीमा भएका कर्जाहरूको अंश ९०.५६ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकले निक्षेपतर्फ पनि स–साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्बन गरेको छ ।
    बैंकले आव २०७७/७८ मा ४६६,४९५ नयाँ ग्राहक संख्या थप गर्दै २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी बैंकको कुल २८ लाख २७ हजार भन्दा बढी ग्राहक बनाएको छ जुन निजी क्षेत्रका वाणिज्य बैंकहरूको तुलनामा सर्वाधिक भएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्