News Portal

  • नेपाल टेलिकमद्वारा फाइबर टु द होम (एफटीटीएच) सेवाको विस्तार

    आर्थीकसंसार संवाददाता२९ साउन, २०७८
    ९४७ पटक
    २९ साउन, २०७८

    काठमाडौं । नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवा ०७८ साउन २८ सम्ममा मुलुकका ५४ जिल्लाका कुल १,७२,००० भन्दा बढी ग्राहकलाई वितरण गरिसकेको छ । २०७५ सालमा १,७३८ ग्राहकलाई मात्र यो सेवा उपलब्ध भएकोमा २०७६ मा ३०,८७९ ग्राहकलाई र २०७७ मा १,०७,७०१ ग्राहकलाई यो सेवा उपलब्ध भएको थियो । यसैगरी २०७८ बैशाख, जेठ, असार र साउनको २८ गतेसम्म करिब ४ महिनामा ६४,२९९ नयाँ लाइन वितरण गरिएको छ ।
    नेपाल टेलिकमले एफटीटीएच सेवाअन्तर्गत मुख्यतः भ्वाइस र डाटा सेवा मात्र उपलब्ध गराइरहेकोमा गत २०७७ पुस १७ देखि एनटी टिभी ब्रान्डमा आईपी टिभी सेवासमेत उपलब्ध गराइरहेको छ । प्रारम्भमा काठमाडौं उपत्यका र बनेपामा मात्र उपलब्ध गराइएको एनटी टिभी सेवा हाल भरतपुर, हेटौंडा, लाहान, टाँडी, धुलिखेल, नगरकोट, पोखरा, सौराहा, बुटबल, बर्दघाट, बागलुङ्ग, तौलिहवा, सन्धिखर्क, भैरहवा, पाल्पा, सिसुवा, तम्घास, दमौली, धादिङ, परासी, मंगलापुर र सिराहालगायत स्थानमा पनि विस्तार भइसकेको छ ।
    मूलतः उच्च गतिको भरपर्दो इन्टरनेट सेवाका लागि उपयोग भइरहेको एफटीटीएच सेवाले भ्वाइस टेलिफोनका लागि तामाको तारको विकल्पको रुपमा फाइबर उपलब्ध गरेको छ भने सोही फाइबरबाट टेलिभिजन सेवा पनि उपलब्ध भएपश्चात ट्रिपल प्लेको अवधारणा कार्यान्वयन गरेको छ । यस आर्थिक वर्षमा मुलुकभरका ६५ जिल्लामा एफटीटीएच सेवाको विस्तार गर्ने कम्पनीको योजना रहेको जानकारी नेलिकमका प्रवक्ता राजेश जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्