News Portal

  • राष्ट्रिय वाणिज्य बैंकद्धारा क्रेडिट कार्ड सेवाको शुभारम्भ

    आर्थीकसंसार संवाददाता२६ साउन, २०७८
    ८५१ पटक
    २६ साउन, २०७८

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्राहकवर्गको बदलिँदो चाहनालाई सम्बोधन गर्न एवं नगद कारोबारमा रहेको जोखिमलाई न्यूनीकरण गर्न मंगलबार क्रेडिट कार्ड (ऋचभमष्त ऋबचम) सेवाको शुभारम्भ गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गर्नुभएको छ ।
    समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले ग्राहकको चाहनाअनुसार नयाँ–नयाँ बैंकिङ्ग प्रोडक्टको अनुसन्धान गर्नुपर्ने बताउँदै यस्तो सेवाले ग्राहकवर्गको आर्थिक कारोबारमा सहजता हुने बैंकले विश्वास लिएको बताउनुभयो । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले क्रेडिट कार्डको शुभारम्भपछि पूर्ण डिजिटल बैंकिङ्गतर्फ बैंक अगाडि बढिरहेकोे बताउनुहुँदै नेपाल, भारत र भुटानमा चल्ने यो सेवा बैंकका सबै शाखा कार्यालयबाट माग गर्न सकिने बताउनुभयो । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठले रा.वा.बैंकको पहिलो क्रेडिट कार्ड ग्राहक हुन पाउँदा खुसी लागेको बताउँदै बैंकको व्यवसाय विस्तारको लागि शुभकामना व्यक्त गर्नुभयो ।
    समारोहमा उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले प्रतिस्पर्धी बजारमा सस्तो ब्याजदरमा दिइने क्रेडिट कार्ड ग्राहकको आयस्रोत एवं भुक्तानी क्षमताको आधारमा ग्राहकलाई २० हजारदेखि पाँच लाख रुपैयाँसम्मको क्रेडिट लिमिट दिन सकिने बताउनुभयो । डिजिटल बैंकिङ्ग विभागका प्रमुख ऋषिराम ढकालले क्रेडिट कार्डबाट ग्राहकले दैनिक रकम भुक्तानी, अनलाइन सपिङ्ग, तोकिएको सीमाभित्र रहेर नगदसमेत झिक्न मिल्ने सुविधा रहेको बताउनुभयो ।
    बैंकको हाल ७७ जिल्लामा २४७ वटा शाखा कार्यालय, २०९ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको छ । उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत सरस्वती अधिकारी, विभागीय प्रमुखहरु, बैंकमा क्रियाशील ट्रेड युनियनका अध्यक्षहरुलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्