News Portal

  • बैंकको बेस रेट कत्ति, ऋणको ब्याज कुन बैंकमा सस्तो ?

    आर्थीकसंसार संवाददाता६ भदौ, २०७७
    ६८२ पटक
    ६ भदौ, २०७७

    काठमाडौं । गत आर्थिक वर्ष २०७६/७७ मा अधिकांश बैंकहरुको नाफा खुम्चिएको छ । नाफा कम कमाएका बैंकहरुको आधार दर (बेस रेट) भने गत आर्थिक वर्षमा घटेको छ । मुलुकमा सञ्चालित २८ वाणिज्य बैंकहरुको आर्थिक वर्ष २०७५/७६ मा औसत बेस रेट ९ दशमलव ५७ प्रतिशत थियो ।
    गत आर्थिक वर्षसम्म आइपुग्दा भने दुई वाणिज्य बैंक मिलेर एक हुँदा कुल वाणिज्य बैंकको संख्या २७ मा झरेको छ भने औसत बेस रेट पनि ८ दशमलव ५ प्रतिशतमा आइपुगेको छ । केही बैंकहरुको बेस रेट बढेको छ भने अधिकांश बैंकहरुको घटेको छ । बेस रेट सबैभन्दा सस्तो राष्ट्रिय वाणिज्य बैंकको ५ दशमलव ८० प्रतिशत छ भने सबैभन्दा धेरै कुमारी बैंकको १० दशमलव ०९ प्रतिशत छ ।
    अहिले बैंक तथा वित्तीय संस्थाहरुमा पर्याप्त तरलता देखिएको छ । नेपाल राष्ट्र बैंकले ३ पटक गरेर ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्दा पनि बैंकहरुमा २ खर्ब रुपैयाँ तरलता छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल तरलता धेरै थुप्रिएका कारण बेस रेट घटेको बताउँछन् ।
    बेस रेट घट्नका लागि निक्षेपको ब्याजदर घट्नुपर्ने उनले बताए । तरलता थुप्रिएकाले निक्षेपको ब्याजदर घटेको र त्यसले बेस रेट घटाएको कार्यकारी निर्देशक ढकालले बताए ।
    के हो बेस रेट ?
    कर्जाको व्याजदर निर्धारणमा स्पष्टसँग पहिचान गर्न सकिने तत्वहरु समावेश गरी गणना गरिएको दर नै आधार दर (बेस रेट) हो । बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर निर्धारण प्रतिष्पर्धी र पारदर्शी गराउने उद्देश्यले आर्थिक वर्ष २०६९/७० को मौद्रिक नीतिमा पहिलोपटक आधार दर प्रणाली लागु गर्ने उल्लेख गरिएको थियो ।
    आधार दर २०६९ सालमै वाणिज्य बैंकमा लागू भएको थियो भने त्यसको एक वर्षपछि २०७० सालदेखि मात्रै विकास बैंक र फाइनान्स कम्पनीहरुमा लागू गरिएको थियो । जसमा कर्जाको जोखिम प्रिमियम अर्थात् जोखिम अनुमानको दर थप गरी ब्याजदर निर्धारण गरिन्छ र यो बैंकबाट कर्जा उपभोग गर्ने ऋणीहरुमा समान रुपले लागु हुन्छ । तर आधार दर कर्जाको वास्तविक व्याजदर होइन । यो व्याजदर निर्धारण गर्ने आधार मात्र हो । जसलाई व्याजदरको सन्दर्भ दर पनि भन्न सकिन्छ । अर्थात बैंकहरुले आधार दरलाई सन्दर्भ दर मानेर व्याजदर तोक्नुपर्दछ । अहिले बैंकहरुले आफ्नो बेस रेट कति छ ? त्यसमा केही निश्चित प्रतिशत जोडेर ब्याजदर निर्धारण गर्ने गरेका छन् ।
    कुन बैंकमा ब्याजदर कति सस्तो ?
    सबैभन्दा कम बेस रेट राष्ट्रिय वाणिज्य बैंकको छ । बेस रेटमा नै केही प्रतिशत प्रिमियम जोडेर बैंकहरुले ब्याजदर कायम गर्ने भएकाले यसकै आधारमा कुन बैंकमा सस्तो ब्याजदरमा ऋण पाइएला भन्ने अनुमान गर्न सकिन्छ ।
    पछिल्लो केही वर्षदेखि सबैभन्दा कम बेस रेट कायम गर्न सफल पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको बेस रेट गत आर्थिक वर्षको अन्त्यमा ५ दशमलव ८० प्रतिशत कायम भएको छ । बैंकको बेस रेट अघिल्लो आर्थिक वर्षको भन्दा बढी हो । अघिल्लो आर्थिक वर्ष ५.५० प्रतिशत रहेको बेस रेट बढेर ५ दशमलव ८० प्रतिशतमा पुगे पनि यो बैंक नै कम बेस रेट हुने बैंकको सूचीमा पहिलो नम्बरमा छ ।
    दोस्रो नम्बरमा भने यसपाली मुलुककै जेठो बैंक नेपाल बैंक देखिएको छ । अघिल्लो आर्थिक वर्ष ७.९८ प्रतिशत रहेको बेस रेटलाई घटाएर नेपाल बैंकले ६.९९ प्रतिशतमा झारेको छ । अघिल्लो आर्थिक वर्ष तेस्रो नम्बरमा रहेको नेपाल बैंक दोस्रो नम्बरमा उक्लिएको छ ।
    अघिल्लो आर्थिक वर्ष ७ दशमलव ६३ प्रतिशत रहेको बेस रेटलाई स्टान्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशतमा झार्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष दोस्रो नम्बरमा रहेको यो बैंकले पनि बेस रेट घटाएको छ । तर यसपालि स्टाण्डर्ड चार्टर्ड बैंक तेस्रो नम्बरमा पुगेको छ । अघिल्लो आर्थिक वर्ष चौथो नम्बरमा रहेको नबिल बैंक बेस रेट घटाए पनि चौथो नम्बरमा नै कायम छ । नबिलले ८.०९ प्रतिशत रहेको बेस रेटलाई ७.३२ प्रतिशतमा झार्न सफल भएको छ ।
    यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंक बेस रेटका आधारमा पाँचौ नम्बरमा देखिएको छ । यो बैंकले ८.३३ प्रतिशत रहेको बेस रेटलाई घटाएर ७.५१ प्रतिशतमा झारेको छ ।
    तलको तस्विरमा हेर्नुहोस् कुन बैंकको बेस रेट कति ?

    (स्रोतः अनलाइन खबर डटकमबाट साभार)

     

    प्रतिकृया दिनुहोस्