News Portal

  • सिवाईसी र शालिग्राम लघुवित्तको एकीकृत कारोबार सुरु

    आर्थीकसंसार संवाददाता
    ६२३ पटक

    काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था बागलुङ र शालिग्राम लघुवित्त वित्तीय संस्था बेनी म्याग्दीको एकीकृत कारोबार सुरुवात भएको छ । राष्ट्रियस्तरको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले प्रदेशस्तरको शालिग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरेको हो । सिवाईसी नेपालको १०० कित्ता शेयरलाई शालिग्रामको ७५ कित्ता शेयर ९१ः०.७५० दिने गरी शेयर मूल्य अनुपात कायम गरिएको छ ।
    एकीकृत कारोवारको शुभारम्भ सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको मुख्य प्रवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल, सिवाईसीका अध्यक्ष पद्मनाथ शर्मा र शालिग्रामका अध्यक्ष कृष्णबहादुर थापाले संयुक्त रुपमा दिप प्रज्वलन, व्यानर अनावरण र रिवन काटेर गरेका हुन् ।
    कार्यक्रममा बोल्दै प्रमुख पौडेलले दुई वित्तीय संस्था गाभिएपछि संस्था थप सबल भएको बताए । उनले ग्रामिण क्षेत्रका लक्षित वर्गमा अझै पनि लघुवित्त संस्था नपुगेको बताउँदै ती वर्गमा गएर जनताको सेवामा समेत ध्यान दिन आग्रह गरे । संस्था ठूलो हुँदा क्षमता पनि बढ्ने बताउँदै पौडेलले लघुवित्त संस्थाहरुले नाफामा मात्र केन्द्रीत नभई सदस्यमैत्री सेवाहरु पनि सञ्चालन गर्ने कुरामा जोड दिए ।
    गत जेठ १४ गते छुट्टाछुट्टै बसेको संस्थाहरुको विशेष साधारण सभाले सिवाईसीले शालिग्रामलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो । एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार २५ गते अन्तिम स्वीकृत प्रदान गरेका थिए ।
    एकीकृत कारोवार शुभारम्भ समारोहमा संस्थाका प्रवन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले संस्थाको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार ८ सय ३७, कर्मचारी १ सय ८६, शाखा कार्यालय ३८, सदस्य संख्या ४८ हजार, लगानीमा बाँकी रहेको कर्जा १ अर्व ७५ करोड र बचत ८८ करोड रहेको जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्