News Portal

  • सिटिजन्स बैंकमा सिर्जना फाइनान्स गाभिई एकीकृत कारोबार सुरु

    आर्थीकसंसार संवाददाता२७ असार, २०७८
    ४९१ पटक
    २७ असार, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त सिर्जना फाइनान्सलाई नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृतिपश्चात प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ ।
    एक विशेष समारोहबीच सिटिजन्स बैंक इन्टरनेसनलका सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरे । २०७८ साल असार २५ गतेसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ४१ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १ खर्ब २४ अर्ब रुपैयाँ हुनेछ । प्राप्तीपश्चात बैंकको कुल शाखा १८९ हुनेछ । यस प्राप्तिपछि बैंकको ग्राहक संख्या करिब १२ लाख पुगेको छ । हाल सिटिजन्स बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्सको प्राप्तिपश्चात उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं. २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात उक्त प्रदेशमा २७ वटा शाखाहरु संचालनमा आएका छन् ।
    सहमतिअनुसार, सिर्जना फाइनान्स लिमिटेडका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्तीपछिको चुक्ता पुँजी १२ अर्ब ५७ करोड रुपैयाँ हुनेछ । उक्त कार्यक्रममा बोल्दै सिटिजन्स बैंकका सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले यस प्राप्तिपश्चात बैंकको वित्तीय सूचकाङ्कहरु मनवस्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने कुरा व्यक्त गरे ।
    उनले मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास र यस किसिमको प्राप्तिले देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
    प्राप्तीबाट सिर्जना फाइनान्सका ग्राहकहरुले अझ बढी स्तरीय र परिस्कृत वित्तीय सेवाहरु प्राप्तीपछि बनेको सिटिजन्स बैंकको १८९ वटा शाखाहरुबाट प्राप्त गर्ने उनले बताए । त्यसैगरी साबिकको सिर्जना फाइनान्सका सञ्चालक समितिका अध्यक्ष सुयेश प्याकुरेलले सिर्जना फाइनान्सका ग्राहक, कर्मचारी र लगानीकर्ताहरुको हित र भविष्य सिटिजन्स बैंकमा अझ बढी सुरक्षित र उज्वल हुने बताए ।
    बैंकले मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई अंगिकार गर्दै यस अगावै नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त संस्था पिपल्स फाइनान्स, नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स, प्रिमियर फाइनान्स र नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त संस्था सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ती गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्