News Portal

  • नबिल एसएसईले मनायो तेस्रो वार्षिकोत्सव, १२ सय रोजगारी सिर्जना

    आर्थीकसंसार संवाददाता११ मंसिर, २०८१
    ४२ पटक
    ११ मंसिर, २०८१

    काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । २०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल एसएसई, नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रूपान्तरण गर्ने लक्ष्य राखेर अघि बढाइएको कार्यक्रम हो ।

    नबिल बैंकले नबिल एसएसई फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई प्रकारको कार्यक्रम सञ्चालन गर्दै आएको छ । हालसम्म नबिल एसएसई कार्यक्रमबाट ८२० भन्दा बढी व्यक्तिहरूले उद्यमशीलतासम्बन्धी प्रशिक्षण प्राप्त गरिसकेका छन् । त्यस्तै, ११७ नयाँ उद्यमहरूको स्थापना भएको छ । यस कार्यक्रमबाट १२ सय रोजगारी सिर्जना गर्न सफल भएको बैंकले जानकारी दिएको छ ।

    ‘नबिल एसएसईले नवीन सोच भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्दै देशभित्र नै उद्यम गरी रोजगारी सिर्जना गर्न सफल भएकोमा हामी खुसी छौं,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । सामाजिक तथा आर्थिक रूपान्तरणमा नबिल एसएसईले गतिशील बनाएको भन्दै उनले भने, ‘तीन वर्षको दौरानमा देशमा सयौं मानिसहरूका लागि रोजगारी सिर्जना भएको छ भने यसले दीर्घकालीन सामाजिक परिवर्तनमा सहयोग हुनेमा हामी विश्वस्त छौं ।’

    स्थापनाकालदेखि हालसम्म नबिल एसएसईले देशभरका १२ शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै आफ्ना कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (सोमटियू) सँगको सहकार्यमा सञ्चालित फेलोसिप कार्यक्रमले सामाजिक उद्यमशीलतामा रुचि राख्नेहरूलाई उत्कृष्ट प्लेटफर्म प्रदान गर्दै आएको छ ।

    सहभागीहरूले ६ महिनाको अवधिमा १८ दिनको एक्सन बेस्ड आवासीय तालिम प्राप्त गर्छन्, जसमा एक वर्षसम्मको मेन्टरसिप पनि उपलब्ध गराइएको छ । यस कार्यक्रमले अहिलेसम्म ५६ सामाजिक उद्यमीलाई तालिम दिइसकेको छ, जसबाट पहिलो तीन समूहका ४५ उद्यम सञ्चालन भई सयौंको रोजगारी सिर्जना गर्न सफल भएको नबिल बैंकले जनाएको छ । नबिल एसएसईअन्तर्गत हालै सुरु भएको चौथो ब्याचमा २० जना नयाँ उद्यमीहरूले आफ्नो उद्यमशीलता यात्रा प्रारम्भ गरेका छन् ।

    तीन महिनाको अवधिमा सञ्चालन हुने नबिल एसएसई सर्टिफिकेट कोर्सले प्रशिक्षार्थीलाई सामाजिक उद्यम सञ्चालन र व्यवस्थापनका लागि आवश्यक ज्ञान र सीप प्रदान गर्दै आएको छ । यस कोर्सका सहभागीहरूमध्ये ७२ जनाले आफ्नो उद्यम स्थापित गरी दिगो सामाजिक परिवर्तनका लागि काम गर्दै आएका छन् ।

    नबिल एसएसईले सामाजिक उद्यमीहरूलाई महत्त्वपूर्ण सामाजिक समस्याहरू समाधान गर्न सक्षम बनाउँदै, दीर्घकालीन उद्यम स्थापना गर्न प्रेरित गरिरहेको छ । यसले सामाजिक उद्यमका लागि अवधारणा निर्माण, त्यसलाई लगानीयोग्य बनाउने र साना उद्यमीहरूलाई सशक्त बनाउने कार्यलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको छ ।

    तेस्रो वार्षिक उत्सव मनाउँदै नबिल एसएसईले चौथो वर्षमा प्रवेश गर्दा सामाजिक उद्यमशीलतालाई अझ विस्तार गर्ने र नेपालका समुदायहरूको उत्थानमा निरन्तर योगदान दिने लक्ष्य राखेको छ ।

    प्रतिकृया दिनुहोस्