News Portal

  • युनियन लाइफको आईपीओ असार २४ गतेदेखि निष्काशन हुने

    आर्थीकसंसार संवाददाता१६ असार, २०७८
    ६८५ पटक
    १६ असार, २०७८

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा आगामी असार २४ गतेदेखि आवेदन दिन पाइने भएको छ । इन्स्योरेन्सले सो दिनदेखि सर्वसाधारणमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।
    कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात ६४ लाख ५० हजार कित्ता अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ । त्यस्तै, बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।
    यससँगै इच्छुकले असार २४ गतेदेखि असार २८ गतेसम्ममा आवेदन दिन सक्नेछन् । यदि सो अवधिसम्ममा आवेदन नपरेमा ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन पाइने व्यवस्था रहेको छ । उनीहरुले न्यूनतम १० कित्तादेखि ३२ हजार २५० कित्तासम्मको सेयरको लागि आवेदन दिन सक्नेछन् ।
    इन्स्योरेन्सको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । सेयर जारी गर्न इक्रा नेपालले इन्स्योरेन्सलाई इक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।
    एक अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बाँडफाँटपछि २ अर्ब १५ करोड रुपैयाँ नाघ्ने छ । नेपाल धितोपत्र बोर्डले इन्स्योरेन्सलाई गत असार १३ गते मात्रै सेयर जारी गर्नको लागि स्वीकृति दिएको थियो ।
    प्रतिसेयर आम्दानी र नेटवर्थ
    त्यस्तै, आर्थिक वर्ष २०७६÷७७ मा अपरिष्कृत विवरणअनुसार इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३३.३३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४८.४६ रुपैयाँ रहेको छ । चालु आव २०७७÷७८ मा प्रतिसेयर आम्दानी ४.१७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ कायम हुने संस्थाको प्रक्षेपण रहेको छ । त्यस्तै, आगामी आव २०७८÷७९ मा उक्त रकम क्रमशः ६.२३ रुपैयाँ र १४३ रुपैयाँ पुग्ने संस्थाले प्रक्षेपण गरेको छ ।
    सञ्चित नाफा
    त्यसैगरी, गत आर्थिक वर्षमा ७२ करोड ९३ लाख रुपैयाँ सञ्चित नाफा कमाएको इन्स्योरेन्सले चालु आवमा ७८ करोड ५१ लाख रुपैयाँ कमाउने प्रक्षेपण गरेको छ । त्यस्तै, उक्त रकम बढेर आगामी आव अर्थात आव २०७८÷७९ मा ९१ करोड ९१ लाख रुपैयाँ र आव २०७९÷८० मा १ अर्ब १० करोड रुपैयाँ पुग्ने कम्पनीले अनुमान गरेको छ ।

    प्रतिकृया दिनुहोस्