News Portal

  • एभरेष्ट इन्स्योरेन्सका सीईओ कमल गौतमको निरन्तरता

    आर्थीकसंसार संवाददाता१० असार, २०७८
    ११३० पटक
    १० असार, २०७८

    काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमल गौतमले निरन्तरता पाएका छन् । पहिलो कार्यकाल सकिनुअघि नै बीमा समितिले उनलाई इन्स्योरेन्समा निरन्तरता दिन स्वीकृति दिएको हो ।
    सीईओ गौतमको पहिलो कार्यकाल आगामी असार १६ गते सकिँदै थियो । तर बीमा समितिले असार १० गते नै सञ्चालक समितिको प्रस्तावअनुसार उनलाई दोस्रो कार्यकालको लागि स्वीकृति दिएको हो ।
    कम्पनी सञ्चालक समितिको बैठकले सीईओ गौतमको कार्यकुशलता र व्यवस्थापकीय क्षमतालाई मूल्याङ्कन गर्दै पुनः नियुक्तिको लागि बीमा समितिमा प्रस्ताव गरेको थियो ।
    गौतमले २०७४ असारदेखि नै कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै आएका छन् । चार वर्ष अवधिको पहिलो कार्यकालमा इन्स्योरेन्सलाई एक उचाईमा पुर्याउन सफल भएकोले नै थप चार वर्ष काम गर्ने अवसर जुटेको हुन सक्ने सीईओ गौतमको दावी छ ।
    ‘बैंकिङ्ग क्षेत्रबाट आएको म, नयाँ क्षेत्रमा जे जति गर्न सकेँ त्यो गरेँ, व्यवस्थापकीय चुनौतिलाई पार गर्दै संस्थालाई एउटा ठाउँमा पुर्याएँ, त्यसको लागि म सन्तुष्ट छु, त्यसैले पनि मलाई दोस्रो कार्यकालको लागि काम गर्ने अवसर आयो होला,’ उनले पहिलो कार्यकालको अनुभव बताउँदै भने ।
    पुनः नियुक्ति पाएसँगै गौतमले आगामी चार वर्षसम्म कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने छन् । यो अवधिमा इन्स्योरेन्सलाई थप उचाईमा पुर्याउने उनको योजना रहेको छ ।
    ‘पहिलो कार्यकाल जस्तै अबको कार्यकालमा पनि नियम कानुनसंगत ढंगले संस्थाको कर्पोरेट भिजन र स्ट्रयाटेजीलाई अगाडि बढाउने हो, कम्पनी बीमितलगायत समग्र बीमा क्षेत्रको हितमा काम गर्ने हो, संस्थालाई व्यवसायिक रुपमा अगाडि बढाउने, नाफा बढाउने, संस्थालाई सबल बनाउने, ब्राण्ड इमेजलाई बढाउने त छँदैछ, यसलाई सँगै निरन्तरता नै दिँइरहने हो । समय परिवर्तनशील छ, अविरल यात्रामा अगाडि बढिरहेका छौं, सायद अबको ४ वर्षमा संस्थालाई थप उचाईमा पुर्याउन सकिन्छ होला, त्यहीअनुसार अगाडि बढ्ने छौं,’ उनले भने ।
    पाल ग्रिन्डलैज बैंकबाट प्रोफेसनल बैंकिङ्ग क्यारियर सुरु गरी हिमालयन बैंक, एनआईसी एसिया बैंक, एनबि बैंक, सनराइज बैंक हुँदै पछिल्लो समय इन्फ्रान्स्टक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेका गौतमले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकलाई सुधार गर्न महत्वपूर्ण भुमिका खेलेका थिए ।
    हालै इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैक, एनसीसी बैंकमा गाभिएपश्चात नायव महाप्रवन्धकको जिम्मेवारी सम्हाल्दै आएका गौतमले केही महिनाअघि बैंकबाट राजिनामा दिई अवकास लिएका थिए । समस्याग्रस्त संस्थालाई सुधार गर्न अनुभवी गौतम निर्णय एवम व्यवस्थापकीय क्षमतामा अव्वल मानिन्छन् । इन्स्योरेन्समा नियुक्त हुनुअघि नै करिब २६ वर्षको बैंकिङ्ग अनुभव सम्हालेका गौतम त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर हुन् ।

    प्रतिकृया दिनुहोस्