News Portal

  • सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित

    आर्थीकसंसार संवाददाता२७ जेठ, २०७८
    ९६३ पटक
    २७ जेठ, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सातौं विशेष साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा बिहीबार सम्पन्न भएको छ ।
    कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले डिजिटल प्लाटफर्म जुममार्फत सातौं विशेष साधारणसभा संचालन गरेको हो ।
    साधारणसभाबाट सञ्चालक समितिको तर्फबाट भण्डारीले सिर्जना फाइनान्सलाई प्राप्ति (एक्विजिसन) गर्नका लागि गरेको विशेष प्रस्ताव विशेष सर्वसम्मत रुपमा पारित भएको छ । यस विशेष साधारणसभाले सिर्जना फाइनान्स र सिटिजन्स बैंक इन्टरनेसनलबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ ।
    सिर्जना फाइनान्सको १०० कित्ता सेयरलाई सिटिजन्स बैंक इन्टरनेसनलको ९५ कित्ता सेयर ९१ः०।९५० दिने गरी सेयर मूल्य अनुपात कायम गरिएको छ ।
    नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडको पनि मिति २०७७ जेठ २७ गते सम्पन्न विशेष साधारसभाले समेत सिर्जना फाइनान्सलाई प्राप्तिका लागि स्वीकृति प्रदान गरिसकेको छ ।
    दुवै बैंक तथा फाइनान्सको विशेष साधारणसभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंक इन्टरनेसनललाई सिर्जना फाइनान्स प्राप्ति गर्नका लागि बाटो खुलेको हो ।
    यसै आव भित्र सिर्जना फाइनान्सलाई संयुक्त कारोबार प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारीले जानकारी दिँदै डिजिटल प्लाटफर्ममा उल्लेखनीय सहभागिताका लागी शेयरधनीहरुलाई बैंक संचालक समिति सम्पूर्ण सदस्यहरुको तर्फबाट आभार प्रकट गरे ।
    २०७८ साल जेठ २६ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनलले सिर्जना फाइनान्सलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ३८ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिब १ खर्ब २२ अर्ब रुपैयाँ हुनेछ ।
    प्राप्तिपश्चात बैंकको कुल शाखा १८९ हुनेछ । हाल यस बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्ति पश्चात् उत्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात उक्त प्रदेशमा २७ वटा शाखाहरु हुनेछन् ।
    सहमतिअनुसार, सिर्जना फाइनान्सका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनलको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।
    बैंकको संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डेको नेतृत्वमा बैंकले सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेण्ट बैंक र सिर्जना फाइनान्सको प्राप्ति अगाडि बढाएको हो । बैंकले सातवटै प्रदेशमा आफ्नो दह्रो उपस्थिति बनाउँदै लगेको छ । यस प्राप्ति पछि बैंकको ग्राहक संख्या करिब १२ लाख पुग्नेछ ।

    प्रतिकृया दिनुहोस्