News Portal

  • सिर्जना फाइनान्स र सिटिजन्स बैंकबीच सम्झौता

    आर्थीकसंसार संवाददाता११ जेठ, २०७८
    ८७० पटक
    ११ जेठ, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसेनलले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने गरी आज उक्त कम्पनीसँग अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । बैंकले विराटनगरमा प्रधान कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त फाइनान्सलाई प्राप्ति गर्ने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
    सो सम्झौतापत्रमा बैंकको तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
    दुवै कम्पनीले आ—आफ्नो विशेष/साधारणसभाबाट प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबार सुरु गर्नेछन् । दुवै कम्पनीले गत माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।
    नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपश्चात सिर्जना फाइनान्सलाई प्राप्ति गरी यसै आर्थिक वर्ष २०७७÷०७८ भित्र संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको बैंकले जनाएको छ ।
    २०७८ साल जेठ ९ गतेसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ३७ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १ खर्ब २१ अर्ब रुपैयाँ हुनेछ ।
    प्राप्तिपश्चात बैंकको कुल शाखा १८९ हुनेछ । हाल यस बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्तिपश्चात उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात उक्त प्रदेशमा २७ वटा शाखाहरु हुनेछन् ।
    बैंकले सातवटै प्रदेशमा आफ्नो दह्रो उपस्थिति बनाउँदै लगेको छ । यस प्राप्तिपछि बैंकको ग्राहक संख्या करिव १२ लाख पुग्नेछ । बैंकको सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक श्री प्रवलजंग पाण्डेको नेतृत्वमा बैंकले सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेण्ट बैंक र सिर्जना फाइनान्सको प्राप्ति अगाडि बढाएको हो ।
    सहमतिअनुसार, सिर्जना फाइनान्स लिमिटेडका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको चुक्ता पुँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ । प्राप्तितपश्चात बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दाे बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने र देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्