News Portal

  • यही अवस्था अघि बढे आर्थिक संकट देखिने: राष्ट्र बैंकको सर्वेक्षण

    आर्थीकसंसार संवाददाता५ जेठ, २०७८
    ३७० पटक
    ५ जेठ, २०७८

    काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको अर्थतन्त्र यही अवस्थामा अगाडि बढे आर्थिक संकट सिर्जना हुने बताएको छ । बैंकले चालु आवको बैशाख ५ गतेदेखि १४ गतेसम्म उद्योगी तथा व्यवसायीहरुको राय लिँदै गरेको सर्वेक्षणले यस्तो अवस्था देखाएको हो ।
    सर्वेक्षण नतिजाअनुसार २०७७ असारको तुलनामा २०७८ बैशाखमा उद्योग÷व्यवसाय सञ्चालनमा उल्लेख्य सुधार आएको देखिएको छ । गत असारको तुलनामा उद्योग÷व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत उल्लेख्य सुधार आएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
    यद्यपि अझै पनि कोभिड–१९ पूर्व २०७६ फागुनको अवस्थामा भने उद्योग÷व्यवसायहरु पुग्न नसकेको राष्ट्र बैंकको भनाइ छ । हाल कोभिड–१९ महामारीको दोस्रो लहरसँगै अधिकांश जिल्लाहरुमा २०७८ बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेकोले विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुन जाने देखिएको छ ।
    कोभिड–१९ को संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधिहरु पनि चलयामान बनाइरहनु पर्ने खाँचो रहेको बैंकले उल्लेख गरेको छ । कोभिड—१९ ले व्यवसायमा पारेको असर अध्ययन गर्न यस बैंकले २०७७ असारमा ५२ जिल्लाका ६७४ उद्योगी÷व्यवसायीहरुबाट तथ्याङ्क संकलन गरी सोको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
    सो सर्वेक्षणले बन्दाबन्दीपश्चात औसतमा ६१.०३ प्रतिशत उद्योग÷व्यवसायहरु सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग÷व्यवसायहरु मात्र पूर्ण रुपमा सञ्चालनमा रहेको देखाएको थियो । त्यसैगरी, बन्दाबन्दी केही खुकुलो भएपछि २०७७ मंसिरमा प्रथम पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको थियो ।
    पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग÷व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा उल्लेख्य सुधार आएको देखाएको छ । यो दोस्रो पुनरावृति सर्वेक्षण गरिसक्दा कोभिड—१९ को दोस्रो लहरले गर्दा अधिकांश जिल्लाहरुमा पुनः निषेधाज्ञा जारी भएको छ । यसले गर्दा अर्थतन्त्र पुनः प्रभावित हुन पुग्ने देखिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

    प्रतिकृया दिनुहोस्