News Portal

  • नबिल बैंकले वीर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने

    आर्थीकसंसार संवाददाता४ जेठ, २०७८
    ४९५ पटक
    ४ जेठ, २०७८

    काठमाडौं । वीर अस्पतालमा चौधरी फाउण्डेसनले १८ शैय्याको आईसीयू वार्ड र नबिल बैंकले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । फाउण्डेसन र बैंकले अस्पतालसँग यस विषयमा मंगलबार समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
    फाउण्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी, प्रतिष्ठानका उपकुलपति प्रा.डा. देवनारायण शाह र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
    सरकारले वीर अस्पताललाई ‘केन्द्रीय कोभिड अस्पताल’घोषणा गरेको छ । वीर अस्पतालको नयाँ भवनलाई अक्सिजन प्लान्टसहितको आईसीयू वार्ड बनाउन यस्तो पहल गरिएको फाउण्डेसनले जनाएको छ ।
    नबिल बैंकद्वारा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक मिटरर प्रतिघण्टा रहनेछ । यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ ।
    चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले आक्रान्त मुलुकलाई जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सहयोग गर्न पाउँदा आफूहरूलाई सन्तोष लागेको बताए । ‘कोरोनालाई परास्त गर्न हाम्रो संयुक्त प्रयास आवश्यक छ,’ उनले भने, ‘हरेक नागरिक, सामाजिक संघसंस्था, कर्पोरेट हाउस अहिले एकजुट भएर सार्वजनिक अस्पतालहरूसँग सहकार्य गर्दै अत्यावश्यक पूर्वाधार निर्माणमा सरिक हुनुपर्ने बेला आएको छ ।’ यस्तै नाम्स उपकुलपति शाहले यस्तो कठिन घडीमा कोरोना उपचारका लागि अत्यन्तै संवेदनशील मानिने आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने फाउण्डेसन र बैंकको निर्णयले सयौं कोरोना बिरामीलाई जीवनदान दिने बताए ।

    प्रतिकृया दिनुहोस्