News Portal

  • नेपाल बैंकको साढे ३ अर्बको ऋणपत्र बिक्री खुला

    आर्थीकसंसार संवाददाता२२ वैशाख, २०७८
    ७४९ पटक
    २२ वैशाख, २०७८

    काठमाडौं । नेपाल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्रको बिक्री खुला गरेको छ । बैंकले अजा अर्थात बैशाख २२ गतेदेखि सो परिमाण अर्थात एक हजार रुपैयाँ अंकित दरका ३५ लाख कित्ता ऋणपत्रको बिक्री खुला गरेको हो ।
    जसमध्ये १४ लाख कित्ता सर्वसाधारणलाई र बाँकी रहेको २१ लाख कित्ता ऋणपत्र विभिन्न व्यक्ति तथा संघ संस्थालाई व्यक्तिगत तवरबाट बिक्री गरिएको बैंकले जनाएको छ ।
    सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार बाँडफाँड गरी बाँकी १ अर्ब ३८ करोड रुपैयाँ ऋणपत्र सार्वजनिक निष्काशनबाट बिक्री खुला भएको हो ।
    बैंकद्वारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा बैशाख २६ गते र ढिलोमा जेठ ५ गतेसम्म बन्द हुने गरी तोकिएको छ ।
    बैंकको यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ । वार्षिक ८.५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने छ ।
    बैंकले ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले बैंकलाई लो क्रेडिट रिक्स जनाउने इक्रा एनपी इस्युअर रेटिङ्ग सिंगल ए प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थालाई समयमै वित्तीय दायित्व पूरा गर्ने तथा कर्जा जोखिम न्यून भएको संस्थाको रुपमा लिइन्छ ।
    बैंकले ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । यससँगै, लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु एवंम तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

    प्रतिकृया दिनुहोस्