News Portal

  • महिला सामुदायिक लघुवित्तको प्रथम साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता०२ भदौ, २०७७
    ६७० पटक
    ०२ भदौ, २०७७

    दाङ । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम साधारण सभा सम्पन्न भएको छ । महिला सामुदायिक लघुवित्त राष्ट्रिय स्तरको वित्तीय संस्थाको रुपमा परिणत हुने भएको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको अनुमति पाएको यस वित्तीय संस्था राष्ट्रिय स्तरको वित्तीय संस्थाको रुपमा परिणतको तयारी गरेको छ ।
    नेपाल महिला सामुदायिक सेवा केन्द्रले सुरु गरेको लघुवित्त कार्यक्रमलाई २०६० बाट नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी वित्तीय मध्यस्तकर्ताको कार्यक्रम सफल रुपमा सञ्चालन गरेको थियो ।
    लघुवित्त कार्यक्रमको सफलतापश्चात २०७५ सालमा महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाको रुपमा दर्ता भई लघुवित्त सेवा सञ्चालन गर्दै आएको यस संस्था राष्ट्रिय स्तरको संस्थाको रुपमा परिणतको अन्तिम तयारीमा रहेको संस्थाका प्रमुख कार्यकारी निर्देशक विमला योगीले जानकारी दिइन् ।
    महिला सामुदायिक लघुवित्त वित्तीय संस्था र पोखरास्थित जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिने सम्झौता भइसकेको र छिट्टै राष्ट्रिय स्तरको लघुवित्त संस्थाको रुपमा परिणत हुने योगीले जानकारी दिइन् । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम साधारण सभाको अवसरमा यस्तो जानकारी दिइएको हो ।
    सभामा संस्थाको आगामी दिनको योजनाबारे जानकारी गराउँदै संस्थाका वरिष्ठ प्रबन्धक पवन योगीले राष्ट्रिय स्तरको वित्तीय संस्था निर्माण गरी आधुनिक तथा प्रविधीमैत्री लघुवित्त सेवा प्रदान गर्ने जानकारी दिए ।
    संस्थाका सदस्यहरुले उत्पादन गरेको सामाग्रीहरुलाई खरिद र विक्री गर्नका लागि सहजता दिने उद्देश्यका साथ सुरु गरिएको हरियो बजारको स्तर वृद्धि गरी १ हजार लिटर बराबरको दुग्ध प्रशोधन केन्द्र स्थापना गरी सदस्यहरुलाई पशुपालनतर्फ आकर्षित गरी स्वरोजगार निर्माण गर्ने योजना आगामी दिनमा रहेको पनि उनले जानकारी दिए ।
    प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका १० जिल्लामा २५ वटा शाखा कार्यालयहरु स्थापना गरेर ५ हजार ५ सय भन्दा बढी सदस्यहरुमा सेवा पु¥याएकोे महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा हाल ४१ हजार ५ सय ७६ जना महिला र ४ सय २ जना पुरुष गरी ४१ हजार ९ सय ७८ जना सदस्यहरु आवद्ध रहेका छन् ।
    ‘स्वच्छ लघुवित्त हाम्रो पहिचान, घर घरमा रोजगारी हाम्रो अभियान’ भन्ने मूल नाराका साथ लघुवित्त सेवा प्रदान गरेको संस्थाले सक्षम वित्तीय पँहुच अभिवृद्धि परियोजनाको सहकार्यमा १० वटा शाखाहरु विस्तार गरेको, १३ सय परिवारलाई वित्तीय साक्षरतामार्फत बचत, ऋणकोे सही सदुपयोग, रेमिटान्स, बीमा तथा उद्यमशीलतासम्बन्धी सचेतना प्रदान गरेको संस्थाका परिष्ठ प्रबन्धक पवन योगीले जानकारी दिए ।
    १२ जना प्राविधकहरु परिचालन गरी पशुजन्य तथा कृषिजन्य उत्पादनमा सहयोग गरिरहेको, कृषिजन्य उत्पादनलाई वृद्धि गर्न पकेट क्षेत्र बनाई प्राविधिक सहयोग गरिरहेको, ६ सय ६२ वटा तालिमहरु सञ्चलान गरेर ८ हजार ५ सय ६० जनालाई व्यवसायमुखी बनाउनका लागि प्राविधिक तालिम, १ हजार ८ सय परिवारमा घरभेट, ४ हजार ५ सय सदस्यहरुलाई व्यवसायीक बनाउन परामर्श तथा व्यवसाय पर्वद्धन सेवा प्रदान गरेको, २५ वटा शाखाका ट्याब्लेट बैंकिङ र एसएमएस बैंकिङ सञ्चालनमा रहेको छ ।
    संस्थाले एक वर्षको अवधिमा कोरोना भाइरसबाट प्रभावित विपन्न परिवार तथा सदस्यहरुलाई स्थानीय गाउँपालिकासँग समन्वय गरी १२ लाख ६० हजार बराबरको खाद्यान्य, मास्क, पिपीई सेट वितरण गरेको, क्वारेनटाईनमा रहेका महिला तथा बालबालिकाहरुलाई सेनेटरी प्याड र सर्वाेत्तम लिटो प्रदान, ६ सय जना बालबालिकाहरुलाई औपचारिक शिक्षा कक्षा १ देखि १२ सम्म सहयोग गरिरहेको, जसमध्ये त्रिवेणी गाउँपालिका रोल्पामा बम विष्फोटबाट निधन भएका परिवारलाई आर्थिक सहयोग गरेको, २२ विद्यालयहरुसँग समन्वय गरी विद्यालयको आर्थिक पूर्वाधार विकासमा सहयोग गरेको छ । लघुवित्तमा आवद्ध सदस्यहरुको सफलताकाृ कथालाई रेडियो कार्यक्रममार्फत प्रशारण गरेको, एक वर्षमा ६ सय ८७ जना सदस्यलाई २३ लाख ७१ हजार रुपैया सुत्केरी सुविधा प्रदान, ४४ जना सदस्यहरुलाई ६८ लाख ३६ हजार रकम ऋण बिमा सुविधा प्रदान गरिएको र ७८ जना सदस्यहरुलाई श्रीमानको मृत्युपश्चात ७ लाख ७५ हजार रुपैया गरिएको छ ।
    यस्तै आगलागी तथा दैवी प्रकोपबाट प्रभावित २९ जना सदस्यहरुलाई १ लाख ३३ हजार रुपैयाँ सहयोग प्रदान गरिएको, ४ जना सदस्यहरुलाई मेटलाईफ इन्सुरेन्समार्फत १ लाख ७६ हजर रुपैयाँ सहयोग गरिएको छ ।
    संस्थाका अध्यक्ष गीताकुमारी गिरीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लीला शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाले ग्रामीण स्तरमा रहेका महिलाहरुलाई वित्तीय सेवा दिन सफल भएको भन्दै संस्थाको प्रशंशा व्यक्त गरेका थिए ।
    कार्यक्रममा संस्थाका उत्कृष्ट कर्मचारीहरु नायव कार्यकारी प्रमुख शारदा शर्मा, प्रबन्धक यमला गौतम, सुरज शर्मा, शाखा प्रबन्धक विपना घिमिरे, कमलबहादुर महरा, वरिष्ठ फिल्ड सहायक यादव देवकोटा, पार्वता केसी र उत्कृष्ट शाखाको रुपमा मुर्कुटी शाखालाई सम्मान गरिएको थियो ।
    यस्तै कोरोना भाईरसको समयमा निःशुल्क मास्क वितरण गर्ने युवा विरबहादुर खत्री (विरु), दाङ महिला जेसीजका अध्यक्ष जीवा भुषाललाई सम्मान गरिएको थियो । कार्यक्रममा रेडीयो स्वर्गद्धारीका समाचार सम्पादक बसुन्धरा गौतम, दाङ महिला जेसिजका अध्यक्ष जीवा भुषालले शुभकामना मन्तव्व व्यक्त गरेकी थिइन् ।
    संस्थाको सञ्चालक समितिका सदस्य शीवा योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सञ्चालक समितिका सदस्य सुष्मा गौतमले संस्थाको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सहजीकरण संस्थाका नायव कार्यकारी प्रमुख शारदा शर्मा र वरिष्ठ प्रबन्धक लोकमणी रेग्मीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्