News Portal

  • सौराहाको हरेक पसलमा क्यूआर भुक्तानीको सुविधा

    आर्थीकसंसार संवाददाता७ चैत्र, २०७७
    ४८७ पटक
    ७ चैत्र, २०७७

    काठमाडौं । पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ । क्यूआर भुक्तानीलाई तीव्र रुपमा अगाडि बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सहकार्यमा सौराहा बजारलाई डिजिटल बजार घोषणा गरिएको हो । शनिबार सौराहामा एक कार्यक्रमकाबीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले उद्घाटन गर्नुभयो । यो सँगै सौराहाका हरेक पसलमा क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ । क्युआरमार्फत भुक्तानी गर्न सकिने भएसँगै सौराहा घुम्न जाने पर्यटकहरुलाई नगद रकम बोक्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ ।
    कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिका प्रमुख नारायण बनले पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा विकास गर्न पाउँदा आफुहरुलाई खुसी लागेको बताए । उनले आर्थिक कारोबार डिजिटल हुँदा सुशासन र पारदर्शीता कायम हुने बताए ।
    नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै उनले नगदरहित कारोबारले मुलुकको अर्थतन्त्रमा पनि ठुलो टेवा पुग्ने बताए । उनले कार्डलगायतका भुक्तानीले वर्षेनी अर्बौं रुपैयाँ विदेशीने गरेको बताउँदै क्यूआर भुक्तानीले सोही रकम स्वदेशमै रहने भएकाले आफुहरुले प्राथमिकतामा राखेको बताए ।
    कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर प्रविधिको प्रयोगसँगै व्यवसायीको व्यापार व्यवसायमा पनि बृद्धि हुने बताउनुभयो । उहाँले व्यवसायीहरुले बैंकिङ्ग माध्यमबाट कारोबार गर्दा उनीहरुलाई ऋण तथा अन्य सुविधाका लागि पनि व्यवसायीलाई सहयोग पुग्ने बताए । कार्यक्रममा बैंक तथा फोनपेका तर्फबाट सञ्चालक समितिका सदस्यहरु र व्यवस्थापनका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।
    कुमारी बैंक लिमिटेड टेक्नोलोजिमा आधारित बैंकिङ्गलाई प्रवद्र्धन गर्ने अग्रणी बैंक हो । बैंकले देशभर रहेका १ सय ९२ शाखा, १३ वटा एक्स्टेन्सन काउन्टर तथा २२ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।
    फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने २ लाख ६० हजार भन्दा बढी मर्चेन्ट रहेका छन् । एक करोड २५ लाख भन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ । फोनपे विश्व विख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो ।

    प्रतिकृया दिनुहोस्