News Portal

  • नेपाल बैंकसहित ४ बैंकले ठूलो खोला जलविद्युतमा २ अर्ब लगानी गरे

    आर्थीकसंसार संवाददाता६ चैत्र, २०७७
    ८०७ पटक
    ६ चैत्र, २०७७

    काठमाडौं । नेपालमा निजी क्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको २१.३ मेगावाटको ठूलो खोला जलविद्युत आयोजनाको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटेको छ । प्रतिष्ठित व्यवसायी, व्यक्तित्वहरु तथा एनआरएनसमेतको मुख्य लगानी रहेको संयुक्त ऊर्जा प्रालिले विकास गर्न लागेको उक्त जलविद्युत आयोजना म्याग्दी जिल्लाको रघुगंङ्गा गाउँपालिकास्थित ठूलो खोलामा निर्माण हुनेछ । ३ अर्ब ६० करोड रुपैयाँ लागत हुने उक्त आयोजनामा नेपाल बैंकको अगुवाई रहेको विभिन्न ४ वटा बैंक तथा वित्तीय संस्थाको सहभागितामा बनेको कन्सोर्टियमद्वारा २ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ । सो सम्बन्धी सिन्डिकेटेड क्रेडिट फ्यासिलिटीज एग्रीमेन्ट (एससीएफए) सम्झौता ऋणीका तर्फबाट संयुक्त ऊर्जाका अध्यक्ष डा. बद्री केसी तथा बैंकहरुका तर्फबाट नेपाल बैंकका निमिक्त नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले समारोहकाबीच एकआपसमा हस्तान्तरण गरेका थिए ।
    उक्त आयोजनामा नेपाल बैंकद्वारा ७५ करोड १२ लाख ५२ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकद्वारा ६६ करोड रुपैयाँ, सिद्धार्थ बैंकद्वारा ६४ करोड रुपैयाँ तथा सनराईज बैंकद्वारा ४७ करोड रुपैयाँ गरी जम्मा २ अर्ब ५२ करोड १२ लाख ५२ हजार रुपैयाँको वित्तीय प्रबन्ध गरिएको हो ।
    नेपाल बैंकका निमिक्त नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले नेपाली बैंकहरु त्यसमा पनि सरकारी स्वामित्वको बैंकले आयोजनाको आर्थिक, प्राबिधिक, जोखिमलगायतका विभिन्न पक्षहरुको समग्र बिष्लेषण गरी उचित निष्कर्षमा पुगेको र यस आयोजनामा लगानी गर्ने निर्णय निक्षेपकर्ताको रकमको सही उपयोग हुने धारणा राखे । उनले यस आयोजनाका प्रबद्र्धकहरु आफैमा प्रतिष्ठित व्यक्तित्व तथा व्यवसायी भएको हुँदा बैंक कर्जाको सही सदुपयोग हुने र यसअघि दरम खोला जलविद्युत आयोजना विकास गरी निरन्तर रुपमा विद्युत उत्पादन भइरहेकोे हुँदा उनीहरुको कार्यको जाँच भइसकेको यो आयोजना पनि तोकिएको समय तथा लागतमा पूर्ण हुने विश्वास प्रकट गरे ।
    सम्झौता कार्यक्रममा डेभलपर संयुक्त ऊर्जाका अध्यक्ष डा. बद्री केसीले सरकारी बैंकको अग्रसरता र छिटो कार्य भएको अनुभव गर्दा सरकारी बैंकहरुमा ढिलासुस्ती हुन्छ भन्ने धारणा गलत रहेको विचार व्यक्त गरे । साथै उनले निर्माण कार्यलाई चुस्त दुरुस्त पारी यस ठूलो खोला जलविद्युत आयोजनालाई नमुनाको रुपमा समय र कम लागतमा निर्माण गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्