News Portal

  • सर्बोत्तम सिमेन्टले आइपिओ निष्काशन गर्न बिक्री प्रवन्धक नियुक्त

    आर्थीकसंसार संवाददाता४ चैत्र, २०७७
    ४८७ पटक
    ४ चैत्र, २०७७

    काठमाडौं । सर्बोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ग्लोबल आइएमईसँगै सहबिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल र प्रभु क्यापिटल रहेका छन् ।
    बुधबार कम्पनीका अध्यक्ष बिष्णुप्रसाद न्यौपाने र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
    कम्पनीले बुक विल्डिङ विधिबाट ६० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको हो । चुक्ता पुँजीको १५ प्रतिशत शेयर सर्वसाधारणका लागि जारी गर्नका लागि कम्पनीले नेपालमै पहिलोपटक बुक विल्डिङ विधिको प्रयोग गर्ने भएको हो ।
    सर्वसाधारणका लागि छुट्टाएको ६० लाख कित्तामध्ये संस्थागत लगानीकर्ताहरुका लागि २४ लाख कित्ता, स्थानीय जिल्लाबासीलाई ८ लाख कित्ता र २८ लाख कित्ता कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारणका लागि बजारी गरिने कम्पनीले जनाएको छ ।
    कम्पनीले आन्तरिक मूल्याङ्कन तथा विभिन्न आधारहरुलाई अध्ययन गर्दा प्रति कित्ता ७५० रुपैयाँ भन्दा बढी हुने जनाएको छ । कम्पनीले ७५० रुपैयाँ मूल्य निर्धारण हुने पूर्वअनुमान गरे पनि संस्थागत लगानीकर्ताले कम्पनीको मूल्यमा बोलकबोल पछि मात्रै मूल्य तय हुने छ ।
    बुक विल्डिङ विधिअनुसार कम्पनीले सर्वसाधारण समूहका लागि जारी गर्न लागेको शेयरमध्ये योग्य संस्थागत लगानीकर्ताले ४० प्रतिशत खरिद गर्नुपर्ने हुन्छ । नेपाल धितोपत्र बोर्डले ७५ वटा संस्थागत लगानीकर्ताको सूची तयार पारिसकेको छ । कम्पनीले प्राथमिक शेयर निष्काशन नेपाल धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने हुन्छ ।
    बोर्डले सबैभन्दा पहिला संस्थागत लगानीकर्ताहरुका बुक विल्डिङ विधिबाट शेयर जारी गर्न अनुमति दिने छ । बोर्डले अनुमति दिएसँगै कम्पनीले संस्थागत लगानीकर्ताहरुलाई ५ दिन भित्रमा आशय मूल्य पेश गर्न आह्वान गर्ने छ । संस्थागत लगानीकर्ताले पेश गर्ने आशय मूल्यको कारणसहित आवेदन दिनुपर्ने नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक रुपेश केसीले जानकारी दिए ।
    संस्थागत लगानीकर्ताले आशय मूल्यसहित किन्न चाहेको शेयरको मूल्य अग्रिम रुपमा भुक्तानी गर्नुपर्ने हुन्छ । संस्थागत लगानीकर्ताले पेश गरेको मूल्य र कित्ताको आधारमा ‘कट अफ प्राइस’ तोकिन्छ । सर्वसाधारणका लागि भने उक्त कट अफ प्राइसको १० प्रतिशत घटाएर सर्वसाधारणका लागि बिक्री खुला गरिन्छ । नेपालमा यो पहिलो अभ्यास भएकोले आगामी दिनमा यस विधिबाट अन्य कम्पनीहरु पनि आउन खोजेको केसीले जानकारी दिए ।
    कम्पनीको विगत तीन वर्षको औषत प्रतिशेयर आम्दानी ५२ रुपैयाँ छ । प्राथमिक शेयरबाट प्राप्त रकममध्ये ४० प्रतिशत ऋण तिर्ने कम्पनीले जनाएको छ । यससँगै कम्पनी ऋणमुक्त हुनेछ । प्राथमिक शेयर निष्काशन गरेको तीन महिनापछि १० प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांस दिने कम्पनीले घोषणा गरेको छ । इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले ट्रिपल बि प्लस रेटिङ प्राप्त गरेको छ । यस रेटिङले लगानीकर्ताको लागि औषतभन्दा बाढी राम्रो रहेको संकेत प्रदान गर्दछ ।

    प्रतिकृया दिनुहोस्