News Portal

  • एनसीसी बैंकले चितवनका व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने

    आर्थीकसंसार संवाददाता१ चैत्र, २०७७
    ६४४ पटक
    १ चैत्र, २०७७

    काठमाडौं । चितवन जिल्लाका दुग्ध उत्पादक किसान तथा संस्थाहरूले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा पाउने भएका छन् । कर्जा दिन नेपाल क्रेडिट एण्ड कमर्स बैंक र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता भएको हो ।
    नेपाल राष्ट्र बैंकबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधनसहित)अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा प्रवाह गर्नका निम्ति बैंकले उक्त संस्थासँग सम्झौता गरेको हो ।
    सोसम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशराज अर्याल र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष रत्नमणी न्यौपानेले हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकले जिल्लाभरिका दुग्ध उत्पादक किसानहरूको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न संघअन्तर्गतका सदस्य दुग्ध उत्पादक सहकारी संस्थासँग आवद्ध दुग्ध उत्पादक व्यक्ति/किसान र संस्थाहरूलाई सहुलितपूर्ण कर्जा प्रदान गर्नेछ ।
    कसले कतिसम्म कर्जा पाउँछन् ?
    पशुपालक व्यक्ति/किसानले प्रतिव्यक्ति अधिकतम १० लाख रुपैयाँसम्म पाउने छन् । कृषि तथा पशुपालन व्यवसाय गर्ने गरी दर्ता भएका प्राइभेट फार्म वा साझेदारी व्यवसायलाई प्रतिफार्म/व्यवसाय अधिकतम १ करोड रुपैयाँसम्म पाउने छन् ।
    कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका कृषि तथा पशुपालन व्यवसाय गर्ने प्रतिकम्पनीलाई अधिकतम ५ करोड रुपैयाँसम्म दिने बैंकले जनाएको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका विभिन्न सहकारी संस्थासँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आबद्ध ४० हजार भन्दा बढी किसानहरु लाभान्वित हुनसक्ने अपेक्षा गरिएको छ ।
    त्यस्तै, यो कर्जा योजनामा सहभागी हुने सेवाग्राहीलाई कुनै पनि सेवा शुल्क लाग्ने छैन । सम्झौताअनुसार यस्तो कर्जा कुनै पनि शाखाबाट प्राप्त गर्न सकिने र कर्जाका लागि संघले सहजीकरण गरिदिने पनि बताइएको छ ।

    प्रतिकृया दिनुहोस्