News Portal

  • बीओकेको अगुवाइमा अप्पर खुदी आयोजना निर्माणमा लगानी जुट्यो

    आर्थीकसंसार संवाददाता१० फागुन, २०७७
    ४२० पटक
    १० फागुन, २०७७

    काठमाडौं । २१.२१ मेगावाट क्षमता रहेको अप्पर खुदी जलविद्युत आयोजनामा ४ अर्ब १९ करोड रूपैयाँ लगानी जुटेको छ । बैंक अफ काठमाण्डू (बीओके) र सुपर खुदी जलविद्युत प्रा.लि.बीच अप्पर खुदी जलविद्युत आयोजनामा सहवित्तीयकरण कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौतामा आज (फागुन १० गते) हस्ताक्षर भएको छ ।
    बैंक अफ काठमाण्डूको अगुवाइमा रहेको उक्त सहवित्तीयकरणको सदस्य बैंकहरुमा ग्लोबल आईएमई बैंक, सिभिल बैंक, मेगा बैंक नेपाल तथा नेपाल क्रेडिट एण्ड कमर्श बैंक रहेका छन् ।
    सो जलविद्युत आयोजनाको निर्माणका लागि कुल लागतको ७० प्रतिशत बैंकहरुको सहवित्तीयकरण कर्जा र बाँकी ३० प्रतिशत उक्त कम्पनीको लगानी रहनेछ ।
    सुपर खुदी जलविद्युत प्रा.लि.ले लमजुङ जिल्लाको मस्र्याङ्गदी गाउँपालिकामा उक्त जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । आयोजना पूरा भएपछि उत्पादित विद्युत तादीकुना सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।
    साथै, यस सहवित्तीयकरण कर्जापश्चात यस जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ । हालसम्म बिओकेले ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । साथै, ऊर्जा क्षेत्रमा बीओकेको संलग्नता हालसम्म ३४ वटा परियोजनामा रहेको छ ।

    प्रतिकृया दिनुहोस्